Tag: रवि लामिछाने

  • भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म रास्वपाले विश्राम लिँदैन : रवि लामिछाने

    भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म रास्वपाले विश्राम लिँदैन : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै उनले भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताए ।

    शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा उनले आफूमाथि जतिसुकै मुद्दा लगाए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्ध पार्टीको अभियान नरोकिने उल्लेख गरे । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको भन्दै उनले सो कामलाई पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे ।

    ‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौँ । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला, कत्रो सजाय भोग्नुपर्छ होला, मलाई थाहा छैन । तर, मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दावाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिह्न नभएर होइन’ उनले भने, ‘नेपाली जनताले यो भ्रष्टाचारचाहिँ निर्मूल पार्नुपर्‍यो भनेर घण्टी बजाएका हुन् । नेता नभएर होइन । पार्टी नभएर होइन । झन्डा नभएर होइन । चुनाव चिह्न नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यसकारणले जतिसुकै घेराबन्दी हुन्, जतिसुकै मुद्दा चल्दै गरून्, भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।’

    सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेको बताए । सोही कारण संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुपरेको उनले स्पष्ट पारे । उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने उनले बताए ।

  • मुद्दा दर्ता भएपछि रवि लामिछानेकाे आक्राेश : मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

    मुद्दा दर्ता भएपछि रवि लामिछानेकाे आक्राेश : मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दा हालेर इरिटेट गर्ने काम भएको बताएका छन् ।

    सर्वोच्च अदालतले बुधवार लामिछानेविरुद्ध मुद्दा दर्ता गरेपछि बिहीबार बिहान उनले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका हुन् । ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले भनेका छन् ।

    सर्वोच्च अदालतको मिति २०७९—१०–१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको लामिछानेले बताए । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।

    ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०–०२–०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५–०३–०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए। टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ,’ उनले भने ।

    लामिछानेले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने चेतावनी पनि उनले दिएका छन् ।

  • गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ चेक गर्ने : रवि लामिछाने

    गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ चेक गर्ने : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गरेको छ ।

    प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानेले अहिलेको छानविनले जनताले चाहेको जस्तो निष्कर्ष निकाल्न नसक्ने भन्दै संसदीय विशेष समिति बनाएर छानविन गर्न माग माग गरेका छन् ।

    ‘अनुसन्धानका प्रमुखहरूकै नाम आइरहेको छ । दिनको उज्यालोमा बालुवाटार, मन्त्रीक्वाटर, सिंहदरबारमा लेनदेन भएको विषय आएका छन् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’ उनले प्रश्न गरे ।

    ‘जुन छानबिन गर्ने निकाय छन्, कसैको पनि विश्वास गर्ने वातावरण भएन । जसजसको नाम आएको छ, उनीहरुलाई छानविनको दायरामा ल्याउन नदिने, सोधपुछसम्म नगर्ने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, प्रधानन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने ? जोडिएका मान्छेहरूसँग सोधपुछ हुनुपर्‍यो । खुट्टा कमाउनुभएन । कारबाहीको दायरा ल्याउनुपर्छ । सोधपुछका लागि बोलाउनसमेत नहुने, को हो उहाँहरू ?’

    उनले यस प्रकरणमा बिभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरु र राज्यका बिभिन्न निकायहरुको नाम समेत आइरहेको अवस्थामा कसैलाइ विश्वास गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । उनले यसमा नाम आएको व्यक्तिमाथि सोधपुछ र कारवाहीको दायरामा ल्याउन खुट्टा कमाउन नहुने बताएका हुन् ।

    लगतै सभामुख देवराज घिमिरेले रास्वपाले राखेका बिषयमा ध्यानआकर्षित भएको बताए ।

     

     

  • तीन शीर्ष नेता शरणार्थी प्रकरण सामसुम पार्ने प्रयासमा लागेकाे रवि लामिछानेकाे आराेप

    तीन शीर्ष नेता शरणार्थी प्रकरण सामसुम पार्ने प्रयासमा लागेकाे रवि लामिछानेकाे आराेप

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेता मिलेर नक्कली शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

    शनिबार भक्तपुरको सूर्यविनाययक नगरपालिकामा रास्वपाका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका सभापति लामिछानेले तीन ठूला दलका शीर्ष नेताले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोल्न लागि परेको आरोप लगाएका हुन् ।

    उनले भने, ‘तीन नेताहरू याे प्रकरण मिलाउन लागेको देखिइरहेकाे छ, तर यदि त्यसो गरिएमा हामी आन्दोलन गर्न तयार छौँ । हिजाे प्रधानमन्त्रीलाई भेटेर पनि भनेकाे छु ।’

    सम्बोधनका क्रममा लामिछानेले ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न सकेमा आफूले प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा धन्यवाद दिन तयार रहेको पनि बताए ।

    तर उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले चौथो दलका रूपमा रहेको रास्वपालाई ‘बाइपास’ गर्न खोजेको गुनासो पनि गरे ।

  • सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

    सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ । यस्तै, रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

    रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकपछि पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।

    तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए ।

    त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।

  • सरकारमा सहभागिता हुनेबारे रास्वपाले शुक्रबारमात्र निर्णय लिने

    सरकारमा सहभागिता हुनेबारे रास्वपाले शुक्रबारमात्र निर्णय लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।

    उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

    केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे आ–आफ्नो धारणा राखेका थिए । एक केन्द्रीय सदस्यका अनुसार अधिकांशले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने बताएका थिए ।

    तर, पार्टीको एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश हुन्छ भने जान पनि सकिने एक नेताले जानकारी दिए । उनले भने- ‘शुक्रबार थप छलफल गरेर निर्णय गर्ने सहमति भएकाे छ ।’

  • रविलाई प्रचण्डले भने- सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु

    रविलाई प्रचण्डले भने- सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन् ।

    सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हुन् ।

    उनले भने, ‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु ।’

    सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् । त्यसबारेमा आइतबार बालुवाटारमा लामिछानेसँगको छलफल सकारात्मक रहेकाे पनि बताए ।

  • रास्वपाले बाेलायाे केन्द्रीय कार्यसमिति र संसदीय दलकाे बैठक, यस्ता छन् एजेन्डा

    रास्वपाले बाेलायाे केन्द्रीय कार्यसमिति र संसदीय दलकाे बैठक, यस्ता छन् एजेन्डा

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ ।

    पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।

    साथै, पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

    केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो ।

    भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए ।

  • रास्वपालाई  सरकारमा सामेल हुन प्रधानमन्त्रीको आग्रह

    रास्वपालाई सरकारमा सामेल हुन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । आज बालुवाटारमा भएको भेट्मा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सरकारमा सामेल हुन् प्रस्ताव गरेका छन् ।

    प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ ।

    भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डालाई अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

    प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

    रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।

  • शपथपछि रवि लामिछानेकाे प्रतिक्रिया : सरकारमा जानेभन्दा समर्थन फिर्ता लिने सम्भावना बढी

    शपथपछि रवि लामिछानेकाे प्रतिक्रिया : सरकारमा जानेभन्दा समर्थन फिर्ता लिने सम्भावना बढी

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद रवि लामिछानले पद तथा गोपनीयताको शपथ लिएपछि आफूहरु अब सरकारमा जानेभन्दा पनि समर्थन फिर्ता लिने मनसायमा रहेकाे बताएका छन् ।

    वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । शपथ कार्यक्रमपछि पत्रकारले उनलाई प्रश्न सोधेका थिए ।

    तपाईंहरू अब सरकारमा जानुहुन्छ या समर्थन फिर्ता लिनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन । समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ । यसबारे हामी छलफल गर्नेछाैँ ।’

    सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको हो ? भन्ने प्रश्नमा उनले सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएका कारण समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताए ।