गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ चेक गर्ने : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानेले अहिलेको छानविनले जनताले चाहेको जस्तो निष्कर्ष निकाल्न नसक्ने भन्दै संसदीय विशेष समिति बनाएर छानविन गर्न माग माग गरेका छन् ।

‘अनुसन्धानका प्रमुखहरूकै नाम आइरहेको छ । दिनको उज्यालोमा बालुवाटार, मन्त्रीक्वाटर, सिंहदरबारमा लेनदेन भएको विषय आएका छन् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’ उनले प्रश्न गरे ।

‘जुन छानबिन गर्ने निकाय छन्, कसैको पनि विश्वास गर्ने वातावरण भएन । जसजसको नाम आएको छ, उनीहरुलाई छानविनको दायरामा ल्याउन नदिने, सोधपुछसम्म नगर्ने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, प्रधानन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने ? जोडिएका मान्छेहरूसँग सोधपुछ हुनुपर्‍यो । खुट्टा कमाउनुभएन । कारबाहीको दायरा ल्याउनुपर्छ । सोधपुछका लागि बोलाउनसमेत नहुने, को हो उहाँहरू ?’

उनले यस प्रकरणमा बिभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरु र राज्यका बिभिन्न निकायहरुको नाम समेत आइरहेको अवस्थामा कसैलाइ विश्वास गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । उनले यसमा नाम आएको व्यक्तिमाथि सोधपुछ र कारवाहीको दायरामा ल्याउन खुट्टा कमाउन नहुने बताएका हुन् ।

लगतै सभामुख देवराज घिमिरेले रास्वपाले राखेका बिषयमा ध्यानआकर्षित भएको बताए ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७