Tag: रविन्द्र मिश्र

  • देश बनाउन सकेमात्र शुभकामना काम लाग्छ : वरिष्ठ उपाध्यक्ष मिश्र

    देश बनाउन सकेमात्र शुभकामना काम लाग्छ : वरिष्ठ उपाध्यक्ष मिश्र

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले देश बनाउन सकेमात्र शुभकामना लाग्ने बताएका छन् ।

    आइतबार राप्रपा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजद्धारा आयोजित सामाजिक देउसी भैलो, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    देश बन्यो भने शुभकामना नदिँदा पनि देशको शुभ हुने भन्दै मिश्रले देश बनाउन सकेमात्र शुभकामना लाग्ने बताए ।

    उनले भने, ‘यो औपचारिकतामात्रै हो । शुभकामना त्यति बेलामात्रै लाग्छ, जतिबेला हामी यो देश बनाउन सक्छौं । देश बन्यो भने हामी सबैले सबैलाई शुभकामना नदिँदापनि देशको शुभ हुन्छ ।’

    उनले सबैलाई २५–३० वर्ष पछिको नेपाललाई मनन गरेर राजनीति गर्न आग्रह गरे ।

    उनले भने, ‘अहिले देश नबनेको अवस्था हो । वर्षमा १० लाख युवाले देश छोडिरहेका छन् । देशमा यस्तो अवस्था छ । हामी सबैले २५–३० वर्ष पछिको नेपाललाई मनन गरेर राजनीति गरौं ।’

  • आउँदो वर्ष गणतन्त्र दिवस नआओस् ! : रविन्द्र मिश्र

    आउँदो वर्ष गणतन्त्र दिवस नआओस् ! : रविन्द्र मिश्र

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् ।

    १६औँ गणतन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रसँग एक बालिकाले लिँदै गरेको सेल्फीको भिडिओ सामाजिक सञ्जालमा राख्दै उनले उक्त पुस्ताका लागि बस्न योग्य देश बनाउनका लागि राजसंस्था चाहिएको बताएका हुन् ।

    उनले आगामी वर्ष गणतन्त्र दिवस आउन नहुने उल्लेख गरेका छन् ।

    उनले समग्रमा अहिलेको पुस्ता सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी र सबैभन्दा राष्ट्रघाती पुस्ता बनेको पनि बताएका छन् ।

    उनले भनेका छन्:

    आउँदो वर्ष
    गणतन्त्र दिवस नआवोस्!

    संसदको भूमिका भाडमे जाओस्,
    नियम-कानुन भाडमे जाओस्,
    न्यायालय भाडमे जाओस्,
    पदीय जिम्मेवारी भाडमे जाओस्,
    प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्,
    धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्,
    युवाहरूको भविष्य भाडमे जाओस्,
    गरिवको जीवन भाडमे जाओस्,
    देशको अस्मिता भाडमे जाओस्,
    मेरो र आफन्तको कल्याण होस्,
    गणतन्त्र अमर रहोस्!
    होइन त?

    ‘हो’ भन्नुहुन्छ भने त्यसको दुखद र दीर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ।

    हामी त नेपालको इतिहासमै (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी बालिकाको पुस्तामाथि अपराध नगरौँ।

    उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि ‘कुशल संस्था’का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्नसक्ने विश्वासिलो संस्था कुनै हुने छैन।

    इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा ‘नवीन समझदारी’मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।

  • कांग्रेस नेता प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रको १५ प्रश्न

    कांग्रेस नेता प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रको १५ प्रश्न

    काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिहंलाई १५ प्रश्न गरेका छन् ।

    कांग्रेस नेता सिंहले हिजो एक कार्यक्रममा मिश्रप्रति व्यङ्ग गरेपछि त्यसको जवाफमा उनले १५ प्रश्न गरेका हुन् । उनले सिंहको नाम नलिई प्रश्न गरेका छन् ।

    ‘लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘बरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ । उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो । अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो,’ मिश्रले भनेका छन् ।

    सिंहले हिजो मिश्रको नाम लिएर दल खोल्नु भनेको नाङ्ग्लो पसल खोलेजस्तो नभएको भन्दै व्यङ्ग्य गरेका थिए । मिश्रले आफ्नो पार्टी दुई वर्ष पनि टिकाउन नसकेको आरोप सिंहले लगाएका थिए, जसको जवाफ आज मिश्रले दिएका हुन् ।

    मिश्रले कांग्रेस नेता सिंहलाई गरेका १५ प्रश्न यस्ता छन्ः

    १. पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो ? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

    २. संसद भनेको देशको नीति–नियम बनाउने थलो हो । तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के, के विषयमा कति पटक बोल्नुभयो ? बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो ?

    ३. तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद । राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्र्याफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो ? फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो !

    ४. काठमाडौँ सम्पदाको शहर हो । सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि ?

    ५. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो । अहिले छुन पनि हिचकिचाउनु पर्छ । नदिनाला सफाईका लागि केही काम गर्नुभयो ?

    ६. त्यो सांसद विकास कोष भन्ने छ नि ? त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो । तपाईंले त्यो लिनु भयो कि भएन ? वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो नि, हगी ?

    ७. तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि ? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो ? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालावन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो ?

    ८. इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि ?

    ९. साँच्ची, नेपाली पुरूषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो ?

    १०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्याधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन । त्यो त गम्भिर विषय हो नि । अलि चासो दिनु पर्थेन ?

    ११. हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ । त्यो त अति भएन र भन्या ?

    १२. तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो ?

    १३. अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?

    १४. झण्डै एउटा कुरा विर्सिएको । गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे ? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ । छ भने बताइदिनोस् न, कृपया ।

    १५. तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ । मैले त बीपी, कृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हु ँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ । तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो । १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन । मौका पाए कोही नबस्ने देश बनाउनु भयो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो । खै के भनुँ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ । मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?

  • जन्मदिनमा हृदयेन्द्रलाई शुभकामना दिँदै रविन्द्र मिश्र भन्छन्– संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राखौँ

    जन्मदिनमा हृदयेन्द्रलाई शुभकामना दिँदै रविन्द्र मिश्र भन्छन्– संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राखौँ

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्न प्रस्ताव गरेका छन् । उनले हृदयन्द्र वीरविक्रम शाहलाई भावी राजाका रुपमा देख्न चाहेको बताएका छन् ।

    पूर्व राजा ज्ञानेन्द्रका नाति तथा पारस शाहका छोरा हृदयेन्द्रको २१ औं जन्मदिनमा शुभकामना व्यक्त गर्दै मिश्रले भावी गद्दी–आसनको शुभेच्छा व्यक्त गरेका हुन् ।

    पछिल्लो समय विचारभन्दा माथि देश अभियान चलाइरहेका नेता मिश्रले देशलाई नराम्रो संकटबाट जोगाउँन संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्न आह्वान गरेका छन् ।

    उनले संसदले बाँधेको राजतन्त्रको उदाहरण दिँदै भनेका छन्– सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनस् गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।

    उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीतिक अनुभवले नेपालमा राजसंस्था आवश्यक रहेको बताएका छन् ।

     

  • संवैधानिक राजसंस्थाको पक्षमा रवीन्द्र मिश्र

    संवैधानिक राजसंस्थाको पक्षमा रवीन्द्र मिश्र

    काठमाडौं । रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ ।

    ‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता विषय नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण घातक भएको निष्कर्ष निकालेका छन् ।

    उनले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।’

    नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अंगीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ ।

    ‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०–७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन् । आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो । त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन् ।

    मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्तावेज सार्वजनिक गरेका थिए ।

    उक्त दस्तावेजमाथि देशभरबाट आमरूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन् ।

  • रविन्द्र मिश्रले भने – पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन

    रविन्द्र मिश्रले भने – पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन

    काठमाडाैं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले आफू राजनीतिबाट नबाहिरिएको बताएका छन् । आइतबार फेसबुकमार्फत् उनले आफूले पार्टीको नेतृत्वबाट राजीनामा दिए पनि राजनीतिबाट भने नदिएको स्पष्ट पारेका हुन् ।

    ‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ,’ उनले लेखेका छन्, ‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन ।’

    उनले आफू पार्टीको साधारण सदस्य रहिरहने बताएका छन् ।

    फेसबुकमा उनले लेखेका छन्,‘पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ । पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु । म साधारण सदस्य रहने नै छु, राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो । ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन ।’

  • रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हाम्राे कमजोरीबाट सिक्ने प्रयास गर

    रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हाम्राे कमजोरीबाट सिक्ने प्रयास गर

    काठमाडाैं । राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । पत्रकारिता नै छाडेर वैकल्पिक राजनीति भन्दै साझा पार्टी स्थापना गरेका रवीन्द्र मिश्र पनि अन्ततः असफल भएका छन् ।

    उनले अहिले नयाँ दल खोलेका रवि लामिछानेलाई सफताको शुभकामना दिँदै आफूहरूको हविगतबाट पाठ सिक्न सुझाव दिएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत मिश्रले भनेका छन्, ‘मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी, पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर ।’

    हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

  • राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताबारे चर्चा सुरु भएकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग भेट गरेपछि याे चर्चा सुरु भएकाे हाे ।

    भेटका क्रममा पार्टी एकताकाे सम्भावनाबारे छलफल भएकाे बताइएकाे छ । भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जान सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको स्राेतले बताएकाे छ ।

    नेताहरूको भेटको तस्विर फेसबुकमा राखेर विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा ‘आशाजनक संवाद’ भएको पनि उल्लेख गरेका छन् ।

    मिश्रले फेसबूकमा लेखेका छन्, ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद ! आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवल शमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’

    मिश्रले पछिल्लाे समय ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज तयार पारेर संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाइरहेका छन् ।