राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताबारे चर्चा सुरु भएकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग भेट गरेपछि याे चर्चा सुरु भएकाे हाे ।

भेटका क्रममा पार्टी एकताकाे सम्भावनाबारे छलफल भएकाे बताइएकाे छ । भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जान सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको स्राेतले बताएकाे छ ।

नेताहरूको भेटको तस्विर फेसबुकमा राखेर विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा ‘आशाजनक संवाद’ भएको पनि उल्लेख गरेका छन् ।

मिश्रले फेसबूकमा लेखेका छन्, ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद ! आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवल शमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’

मिश्रले पछिल्लाे समय ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज तयार पारेर संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाइरहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१