Tag: लुम्बिनी प्रदेश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

    काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् ।

    सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत हासिल गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् ।

    विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो ।

    गिरीले एमालेका ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गरेका थिए भने भने माओवादी, कांग्रेस लगायतले विपक्षमा मतदान गरेको थियो ।

    बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले लुम्बिनी प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका थिए ।

    माओवादी सहितका दलले समर्थन फिर्ता लिएपछि गिरीले सोमबार विश्वासको मत मागेका थिए ।

  • अल्पमतमा लुम्बिनी प्रदेश सरकार, डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना

    अल्पमतमा लुम्बिनी प्रदेश सरकार, डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना

    काठमाडाैं । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रसहित ६ दलले फिर्ता लिएपछि सरकार अल्पमतमा परेकाे छ ।

    अब मुख्यमन्त्री लीला गिरीले एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।

    माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

    उनीहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन् ।

    आजै माओवादी र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

    अब नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

    लुम्बिनीमा ८७ जना सांसद छन् । नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ।

    प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जसपाका ३/३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।

    लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन् । गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए ।

  • पार्टीले ‘युज एण्ड थ्राे’ गरेकाे भन्दै विमला वलीले त्यागिन् माओवादी

    पार्टीले ‘युज एण्ड थ्राे’ गरेकाे भन्दै विमला वलीले त्यागिन् माओवादी

    काठमाडाैं । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले नेकपा माओवादी केन्द्र त्यागेकी छन् ।

    उनले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्षसमक्ष पार्टी छाडेको पत्र बुझाएकी हुन् । वलीले राजीनामा पत्र माघ २४ मै पार्टीमा दर्ता गरेको खुलेको छ ।

    उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको भन्दै गुनासो पनि पोखेकी छन्।

    ‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ। तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो,’ उनले गुनासो गर्दै भनेकी छन्, ‘माओवादीले मलाई‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको छ। हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरि अहिले वास्ता नै नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले मप्रति अपमान गरेको अनुभूति भएको छ।’

    उनले दुई ठूला पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भई बनेको नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएको स्मरण पनि गरेकी छन् ।

  • सांसद चौधरीको रिहाइको माग गरी लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

    सांसद चौधरीको रिहाइको माग गरी लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

    रुपन्देही । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

    बैठक सुरु हुने बित्तिकै नागरिक उन्मुक्तिका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए।

    त्यसपछि सभामुखले दलका नेता धर्म चौधरीलाई बोल्न समय दिए। धर्मले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै सरकार कसले चलाइरहेको छ भन्दै प्रश्न गरे । उनले थारुहरुलाई फेरि जेलमा कोच्ने काम भएको उल्लेख गरे ।

    बैठक अवरुद्ध गर्ने बताएपछि सभामुख तुलाराम घर्तीले विशेष छलफलको लागि भन्दै १५ मिनेटको लागि बैठक स्थगित गरेका थिए ।

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

    रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।

    गिरीले बुधबार ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए ।

    गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ ।

  • रातारात दाङ सारियाे लुम्बिनी प्रदेशको राजधानी

    रातारात दाङ सारियाे लुम्बिनी प्रदेशको राजधानी

    रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारिएको छ ।

    अस्थायी मुकामका रुपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचरलगायत सामानहरू रातारात दाङ पुर्‍याइएकाे हाे ।

    स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने, त्यसमा पनि नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने रुपन्देहीका नेताहरूले माग गर्दै आएको भए पनि रातारात मन्त्रालयहरू दाङ सारिएको हो ।

    यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थिए भने नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु संरचना तयार नहुँदै मन्त्रालय नसार्न आग्रह गरेका थिए ।

    प्रदेश सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेको थिए ।

    दाङमा पूर्वाधार निर्माणकाे काम तीव्र रुपमा गरिएको छ । लुम्बिनी प्रदेशको राजधानी लेखिएको बोर्ड समेत तयार गरेर टाँगिएको छ ।

  • विवादै विवादको घेरामा मुख्यमन्त्री केसी : जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र अस्पताल ठेक्काले बदनाम

    विवादै विवादको घेरामा मुख्यमन्त्री केसी : जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र अस्पताल ठेक्काले बदनाम

    बुटवल । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल राम्रा कामले प्रशंसा बटुल्ने भन्दा जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्ब बढीको अस्पताल भवन ठेक्कामा सेटिङको आरोपले विवादित र बद्नाम भएको छ ।

    एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले साढे तीन वर्षसम्म सातवटा मन्त्रालय र ६ सदस्यीय मन्त्रिमण्डलले काम गरेको थियो । नेकपा विभाजनपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पोखरेलले पनि जसपालाई फुटाएर दुई मन्त्रालय बढाएर नौवटा पुर्‍याएका थिए ।

    तर २०७८ साउन २८ मा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नेतृत्वको पाँच दलीय सरकार बन्यो । केसी नेतृत्वको सरकारले सत्ता साझेदार दलहरु र एक स्वतन्त्र सांसदलाई भाग पुर्‍याउन नौ वटा मन्त्रालयलाई फुटाएर १३ वटा बनायो । र ४ चारजना राज्यमन्त्रीसहित मन्त्रिमण्डल १७ सदस्यीय जम्बो बनायो । गठबन्धन सरकारमा माओवादीका ६, कांग्रेसका ६, जसपाका तीन, नेकपा एस एक, स्वतन्त्र एक गरी १७ सदस्यीय मन्त्रीमण्डल बनेको थियो । माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री बनेकी विमला वलीले दाङमा एक महिलामाथि दुर्व्यवहार गरेपछि छानवीनमा दोषी ठहर भएपछि उनलाई पार्टीले राजीनामा गराएकाले हाल १६ सदस्यीय छ ।

    ८० जना प्रदेश सांसद रहेको लुम्बिनीमा हालसम्म मन्त्रिमण्डल पुनर्गठन हुंदै दुईजना मुख्यमन्त्री र २९ जना मन्त्री बनिसकेका छन् ।

    भद्दा सचिवालय

    जम्बो मन्त्रिमण्डल बनाएर शुरुमै आलोचित मुख्यमन्त्री केसीले फेरि १८ सदस्यीय भद्दा सचिवालय बनाएर बद्नामी कमाएका छन्  । सचिवालयमा आफ्नै छोरी मानवी केसीलाई दोभासेदेखि विना काम तलब खाने प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, फोटोग्राफर, स्वकीय सचिव लगायतका कर्मचारी पनि राखेको आरोप लागेको छ । सचिवालयमा न्यूनतम २१ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक खाने व्यक्ति छन् । कतिपयले तलब मुख्यमन्त्रीको सचिवालयबाट खाने काम अर्कै संस्थामा गर्ने समेत छन् ।

    केसीका प्रमुख राजनीतिक सल्लाहकार दाङका अमरबहादुर डाँगीलाई सञ्चार, अतिथि सत्कारसहित ८० हजार ८४० रुपैयाँ मासिक सेवा–सुविधा छ । डाँगी एमालेका पूर्व प्रदेशसभा सदस्य हुन् । केसीलाई मुख्यमन्त्री बनाउन उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सहयोग गरेका थिए । त्यही सहयोगबापत केसीले डाँगीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका हुन् ।

    प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकारका नाममा एक जना कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र हलुका सवारी चालक पनि नियुक्त गरिएको छ ।

    प्रमुख राजनीतिक सल्लाहकारदेखि क्यामेरामेन र कार्यालय सहयोगीसम्मले पाउने सुविधाअनुसार मुख्यमन्त्री केसीको सचिवालयले मात्र प्रदेश सरकारको मासिक पाँच लाख २९ हजार ६० रुपैयाँ थप व्यय भार बढाएको छ ।

    अनावश्यक पद सिर्जना

    कार्यकर्तालाई जागिर खुवाउनकै लागि मुख्यमन्त्री केसीले सचिवालयमा अनावश्यक पद सिर्जना गर्नु गलत भएको प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले जनाएको छ ।

    एमाले संसदीय दलका उपनेता तथा पूर्व मन्त्री बैजनाथ चौधरीले वर्तमान सरकारको काम हेर्दा प्रदेश सरकारप्रति नै वितृष्णा फैलाउने खालको देखिएको बताउंछन् ।

    “माओवादीको ध्यान मौका यही हो, कार्यकर्तालाई जागिर खुवाउने हो भन्ने मात्र देखिन्छ”–नेता चौधरीले भने–“यति ठूलो सचिवालयको कामै छैन,यो निकम्मा सरकारको प्रदेशलाई आर्थिक भार थोपर्ने काम मात्र हो ।”

    कुलप्रसाद केसी नेतृत्वको सरकारले नयां मन्त्रीलाई भाग पु¥याउन उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,श्रम तथा यातायात मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालय थपेको छ ।

    शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न एमालेकै दुईजना सांसदलाई गठबन्धनले राजीनामा गरायो । पछि एकजनालाई राष्ट्रियसभा सदस्य र अर्कालाई मुख्यमन्त्रीको सल्लाहकारको जागिर दिइयो ।

    जम्बो मन्त्रिपरिषद् भएकै कारण लुम्बिनी प्रदेशमा मन्त्रालयदेखि मन्त्रीनिवासको व्यवस्थापनमा समेत कठिनाइ भएको छ । मन्त्रालयमा आवश्यक सचिवको व्यवस्थापन गर्न नसक्दा केही सचिवले दोहोरो जिम्मेवारी निभाउनुपरेको छ । मन्त्रीको संख्या बढेकाले मन्त्रालय राख्ने भवनकै अभाव छ । त्यसैले एउटै भवनमा दुईभन्दा बढी मन्त्रालय छन् ।

    मन्त्री तेब्बर बढाए पनि बजेट खर्च झन् कमजोर

    लुम्बिनी प्रदेश सरकारले मन्त्रालय र मन्त्री बढाउंदै लगेपनि बजेट खर्च अघिल्लो आर्थिक वर्षभन्दा कमजोर देखिएको छ । कोभिड महामारीको बेला रहेको आर्थिक वर्ष २०७७÷७८ मा कुल बजेटको ८१.९९ प्रतिशत बजेट खर्च भएकोमा आर्थिक वर्ष २०७८÷७९ को वजेट ७१.१४ प्रतिशत मात्र खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको खर्चको तुलनामा यो १० प्रतिशत कम हो । आर्थिक वर्ष २०७६÷७७ मा ८८.७६ प्रतिशत बजेट खर्च भएको थियो ।

    साढे ६ अर्ब बढीको अस्पताल भवन ठेक्कामा ‘सेटिङ’

    लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा पनि केसी नेतृत्वको सरकार मुछिएर विवादित भएको छ । साढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने गरी दुई पटक नै सेटिङ भएको सार्वजनिक खरिद अनुगमन कार्यालय नै ठहर गरेको थियो ।

    अदालतले समेत ठेक्का अघि नबढाउन अन्तरिम आदेश दिइसकेको छ । मुख्यमन्त्री केसी अध्यक्ष रहेको प्रदेश पुर्वाधार विकास प्राधिकरणले ८ फागुन २०७८ को निर्णयअनुसार गरेको टेण्डर सेटिङमा भएको व्यवसायीको दावी थियो । पछि उक्त ठेक्का रद्द भएको थियो । बोलपत्रमा दुई अर्ब ८१ करोड बराबरको ‘डबल बेसमेन्ट’ भवन निर्माणको अनुभव मागेर आर्थिक चलखेल गरेको आशंका गरिएको छ ।

    मन्त्री विवादित

    लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली विवादित भएर पदबाट राजीनामा दिएकी छन् ।

    जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि गल्ती देखिएकाले राजीनामा दिएकी हुन् ।

    त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानविन समितिले राजयमन्त्री वलीले पदीय मर्यादाविपरित गतिविधि गरेको निश्कर्ष निकालेको थियो ।

    भत्तामा झण्डै एक अर्ब रकम

    केसी नेतृत्वको सरकारले बेठक भत्ताका लागि मात्रै झन्डै एक अर्ब रुपैयाँ छुट्याएको छ । चालु आर्थिक वर्षमा कर्मचारी, मन्त्री, प्रदेशसभाका सभामुख, उपसभामुख र प्रदेशसभा सदस्यको बैठक भत्ताका लागि झन्डै एक अर्ब रुपैयाँ छुट्याएको हो ।

    सरकारकै तलब सुविधा खाने मन्त्रालय र कार्यालयका कर्मचारीकै लागि सरकारले ११ करोड ५० लाख रुपैयाँभन्दा बढी बजेट छुट्याएको छ । यी सबै अनुत्पादक खर्च हुन् ।

    सबैभन्दा बढी भत्ता साढे ७ करोड रुपैयाँ बजेट प्रदेशसभाका लागि मात्र छ । बजेट वितरणमा पनि माओवादी केन्द्रले एकलौटी गरेको स्वयं सत्तारुढ दलकै कार्यकर्ताले आरोप लगाउने गरेका छन् । त्यस्तै विवादित सञ्चार विधेयक पारित र सञ्चारसंस्थाहरुको बजेट आफू निकटकालाई मात्र वितरण गरेको आरोप पनि मुख्यमन्त्रीले खेपेका छन् ।

    भद्रगोल र गैरजिम्मेवार सरकार : एमाले

    प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता बैजनाथ चौधरीले एमाले नेतृत्वको सरकारले सानो आकारको मन्त्रिमण्डल बनाएर प्रभावकारी काम गर्दै आएकोमा गठबन्धन सरकारले जम्बो मन्त्रिमण्डल बनाएर प्रदेशलाई आर्थिक बोझ थोपरेको आरोप लगाए।

    गठबन्धन सरकारको एक वर्ष भद्रगोल, गैरजिम्मेवार र निकम्मापनका कारण प्रदेश सरकारहरुमाथि जनस्तरबाट प्रश्न उठ्ने अवस्था आएको चौधरीले बताए । साढे ६ अर्ब बढीको अस्पताल ठेक्का सेटिङमा सरकारकै मुख्यमन्त्री र प्राधिकरणका सीईओ लगायतको मिलेमतोको प्रश्न उठेकाले सरकार बद्नाम भएको र जनतामा निराशा छाएको चौधरीले बताए ।

    “हामीले शुन्य संरचनामा सातवटा मन्त्रालय र ६ जनाको सानो मन्त्रिमण्डलबाट काम सुरु गरेर सात वटा प्रदेश मध्ये उत्कृष्ट पर्फमेन्स देखाएका थियौं“–चौधरीले भने–“बीचमा सरकारलाई ढाल्न खोजेपछि वाध्यतावश दुईवटा मन्त्रालय बढाएका हौं तर अहिले गठबन्धनको जम्बो मन्त्रिमण्डल र भद्दा सचिवालयको तमासाले प्रदेशवासी वाक्क छन् ।”

    विना संरचना एकैपटक चार वटा मन्त्रालय थप्दा प्रदेशलाई वर्षेनी करोडौं आर्थिक भार थपिएको तर गठबन्धन सरकारलाई कुनै मतलब र चिन्ता नभएको चौधरीको भनाई छ । सबै सांसदलाई मन्त्री बनाएर सरकार टिकाउने गठबन्धन दलहरुको व्यवहारले सरकारका काम कारवाही प्रभावकारी नहुने मात्र होइन, कर्मचारी प्रशासनले सरकारलाई नटेर्ने र अस्थिरतालाई मलजल गर्ने र अन्ततः प्रदेश सरकारमाथि नकारात्मक सन्देश जाने चौधरीले औंल्याए ।

    ‘मन्त्रीमण्डल बढीमा ७ सदस्यीय र प्रदेश सांसद आधा घटाऔं’

    रुपन्देही नागरिक समाजका अध्यक्ष इश्वरीप्रसाद चापागाई प्रदेश सरकार मन्त्रीहरु उत्पादन गर्ने कारखाना बन्न थालेको टिप्पणी गर्छन् । “सुरुमा ६ सदस्यीय मन्त्रिमण्डल हुंदा नागरिकलाई ठीकै लागेको थियो”–चापागाईले भने–“तर सरकार टिकाउन र सबै सांसदलाई भाग पु¥याउनकै लागि मन्त्री फेर्दै र थप्दै जांदा प्रदेश सरकार बदनाम भएको छ ।” प्रदेश सरकारहरु चुस्त, जनमैत्री र पारदर्शी बन्नुको साटो ६–६ महिनामा मन्त्री फेर्दै फजुल खर्च बढाउने तर पुजीगत खर्च गर्न नसक्ने अवस्थाले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्न थालेको चापागाई औंल्याउंछन् ।

    चापागाईले प्रदेश सरकारको आकार ७ सदस्यीय भन्दा बढी बनाउन नपाइने र प्रदेश सभा सदस्यको संख्या कम्तीमा अहिलेको आधा बनाउनुपर्ने तर्क गरे ।

    सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला , कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाइएको र क्यान्सर तथा मुटुरोगीलाई जनही दुई लाख दिने, लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार, ओपीडी र जनरल बेड निःशुल्क गर्ने जस्ता राम्रा काम सरकारले गरेको बताउँछन् ।

    उनले संविधानले गरेको व्यवस्थाभित्रै रहेर प्रदेश सरकारको मन्त्रिमण्डल र मुख्यमन्त्रीको सचिवालय बनेको बताए । पांच दलको गठबन्धन सरकार भएकाले सबैलाई चित्त बुझाउनुपर्ने वाध्यता भएकाले एउटा दलको जस्तो सानो आकारको मन्त्रीमण्डल बनाउन सम्भव नभएको शर्माले तर्क गरे ।

  • सहमतिमा टुंगियो तिलोत्तमा नगरपालिकाको विवाद, बजेट पारित गरिने

    सहमतिमा टुंगियो तिलोत्तमा नगरपालिकाको विवाद, बजेट पारित गरिने

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसहित कार्यसूचीमा राखिने छ ।

    सहमतिपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला पनि खुलाइएको छ । मंगलबार बस्ने नगरसभा बैठकबाट एमाले जनप्रतिनिधिले उठाएका विषय पनि कार्यसूचीमा राखेर छलफल गर्ने र बजेट पनि पारित गर्ने सहमति भएको हो ।

    तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेबीच विवादले बजेट पारित हुन सकेको छैन । विवाद बढ्दै जाँदा प्रहरीले समेत हस्तक्षेप गर्नुका साथै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा-४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्विमिङ पुलमा धकेलिदिएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो । स्विमिङ पुलमा धकेलेको भिडियाे सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

    आइतबार नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा बैठक स्थगन गरेका थिए । एमालेका जनप्रतिनिधिले आफूहरू उपस्थित भए पनि हाजिर गर्न नदिएर बैठक स्थगन गरिएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

    उनीहरूले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आफूहरूलाई हाजिर गर्न नदिएको आरोप लगाउँदै हलभित्र थुन्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

    आइतबार एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए । सोमबार वडाध्यक्षलाई स्विमिङ पुलमा धकेल्ने बुटवलका डीएसपी ठगबहादुर केसीलाई कारबाही माग गर्दै प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

    ३१ असारमा बसेको नगर सभा पनि गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख खाणले स्थगन गरेका थिए । कांग्रेसले न्यायिक समितिका तीन सदस्यमध्ये एक सदस्य आफूले पाउनुपर्ने बताएको थियो ।

    एमालेले नगरसभाबाट निर्णय गराएर तीनै सदस्य आफूले राख्न चाहेको थियो । तिलोत्तमामा मेयर कांग्रेसले जिते पनि नगरसभामा एमालेको बहुमत छ । न्यायिक समितिको एक सदस्यको विवाद नमिल्दा बजेट पारित हुन नसकी झडपसम्मको अवस्था आएको थियो । सहमतिपछि कांग्रेसले न्यायिक समितिको एक सदस्य पाउने भएको छ ।

  • राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतकाे दाबी छ ।

    जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

    छानविन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको स्रोतले जनाएकाे छ ।

    पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

    फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

  • राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

    राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

    बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

    वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यवहार गरेकी थिइन् ।

    वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।