Tag: सभामुख

  • संघीयताको विकल्प होइन सबलीकरण गर्नुपर्छ : सभामुख

    संघीयताको विकल्प होइन सबलीकरण गर्नुपर्छ : सभामुख

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयताको विकल्प खोज्नुभन्दा यसलाई सबलीकरण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशील बनाउनुपर्ने भन्दै अबको कार्यहरु संघीयतामा केन्द्रीत भएर अगाडि बढाउनुपर्ने बताए ।

    उनले भने, ‘योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु संघीयताको मर्म अनुसार होइन । संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशिल बनाउन जरुरी छ । संघीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र संघीयतामा केन्द्रीत हुनुपर्छ भन्ने कुरामा दुढताका साथ यो छलफल पछाडि लाग्नुपर्छ ।’

    यसको साथै, उनले संघीयता सुदृढ बनाउनु भनेको केवल संरचनात्मक व्यवस्थापन मात्र होईन्, यसको प्रभावकारी कार्यान्वयन, नीति निर्माण, स्रोत परिचालन र जवाफदेहीताको संयोजन गर्ने विषय पनि भएको बताए ।

    नीतिगत क्षेत्रमा धेरै माथि भएपनि कार्यान्वयन गर्ने सन्दर्भमा केही समस्याहरु आएको उनको भनाइ छ । उनले भने, ‘हामी नीतिगत क्षेत्रमा धेरै माथि भएपनि कार्यान्वयन गर्ने सन्दर्भमा हामीमा केही समस्याहरु छन्, कार्यान्वयन गर्ने मेकानिजम्हरुको अभाव छ । मेकानिजम् कस्ले चलाउने कसरी चलाउने भन्ने कुरा ऐनदेखि लिएर व्यवहार जस्ता थुप्रै कुराहरु गासिएका छन् । यी कुराहरुलाई फुकाउनका लागि आजको यो छलफल बढि केन्द्रीत भएर जान सक्यो भने, अनुभवलाई साट्न सक्यो भने त्यसको आधारमा बनाउनु पर्ने नीतिहरु बनाउनको लागि यहाँ उपस्थित सबैले पहल गर्ने हो भने मलाई लाग्य यसले निकै ठूलो ऐतिहासिक उपलब्धि हासिल गर्न सक्छ ।’

    यस्तै, निजामति सेवा ऐनको अभावले प्रसाशनिक संघियता कमजोर बनाएको आम गुनासो आएको उल्लेख गर्दै संसदमा छलफलको क्रममा रहेको निजामति सम्बन्धित विधेयकले यसमा केही हदसम्म सहज वातावरण बनाउने उनको विश्वास रहेको छ ।

    उनले भने, ‘निजामति सेवा ऐनको अभावले प्रसाशनिक संघियता कमजोर बनाएको आम गुनासो हामीले सुनेका छौ । संसदमा छलफलको क्रममा रहेको निजामतिसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक छिटो टुङ्गाउने प्रयासमा हामी लागि रहेका छौ र त्यसले केही हदसम्म सहज वातावरण बनाउने कुरामा आशावादी छौ । यसलाई छिटै पूरा गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’

  • संसदीय मामिलामा कलम चलाउनेले विश्लेषणात्मक र गहन रिपोर्टिङ गर्न आवश्यक : सभामुख घिमिरे

    संसदीय मामिलामा कलम चलाउनेले विश्लेषणात्मक र गहन रिपोर्टिङ गर्न आवश्यक : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले सदन, सरकार, सांसद र राजनीतिक दललाई प्रभावकारी बनाउन संसदीय रिपोर्टिङलाई गहन र विश्लेषणात्मक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

    आज संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदीय पत्रकारिताको ठूलो महत्व रहेको चर्चा गरे । उनले सरकारका गतिविधिलाई प्रभावकारी बनाउन संसदीय रिपोर्टिङ गहन र विश्लेषणात्मक हुन आवश्यक भएको बताए ।

    उनले भने, ‘संसदलाई गरिमायुक्त बनाउन, संसद र राष्ट्रपतिलाई जिम्मेवार बनाउन, सांसदहरुका गतिविधिलाई प्रभवकारी बनाउन र संसदले गरेको ठीक कामको प्रचार र प्रोत्साहनका गर्न, गलत कामलाई सच्चाएर सदनप्रति निरासा र टिप्पणी भन्दा पनि आशा र भरोसको विकास गर्नका लागि विश्लेषणात्मक सञ्चारको जरुरी हो भन्ने लाग्छ । अलि बढी विश्लेषण गरेर ठीक खालको विश्लेषण दिन जरुरी छ।’

    संसदमा विरोधको राजनीति हुदै आएको परम्परालाई रचनात्मक र प्रभावकारी रुपमा विश्लेषणात्मक ढंगबाट परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ ।

    संसदीय मामिलामा रिपोर्टिङ गर्नेहरुले आगामी दिनमा संसद भित्रका विभिन्न परिवेश र सीमाका आधारमा त्यहाँको वस्तुस्थितिलाई यर्थाथपरकरुपमा सदन चल्दा र नचल्दा दुवै अवस्थामा सूचनालाई प्रभावकारी रुपमा विश्लेषण सहित जनतामा पुर्‍याउन प्रभावकारी भूमिका निभाउने अपेक्षा उनको छ ।

    ‘यो अधिवेशनलाई प्रभावकारी पार्नको लागि राजनीतिक पार्टीहरुको भूमिका,त्यसबाट आएका विभिन्न सदस्यहरुको भूमिका, त्यसका समितिहरुको भूमिका र त्यसलाई सञ्चालन गर्ने रेफी्रको भूमिकामा रहेको सभामुख,उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षको भुमिकालाई विश्लेषणहरु गरी यसलाई प्रभावकारी पार्नको लागि यहाँहरुलाई ८औं अधिवेशनले विधि मिलाउने मात्र होइन,निर्ममताका साथ समीक्षा गर्नुहुने छ । र त्यसले आगामी दिनको लागि दिशा निर्देश गर्ने छ ।’

  • चिनियाँ राजदूत यान्छी र सभामुख सापकोटाबीच भेट

    चिनियाँ राजदूत यान्छी र सभामुख सापकोटाबीच भेट

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

    सचिवालयका अनुसार भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो ।

    सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

    सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए ।

    उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।

    सभामुख सापकोटाले चैत २०७८ मा चीनको राष्ट्रिय जनकंग्रेसका महामहिम अध्यक्ष लि चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीय मैत्री समूह, संसद–संसदबीच उच्चस्तरीय भ्रमण एवं अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने धारणा राखे ।

    सभामुख सापकोटाले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड १९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहायताका लागि धन्यवाद दिए ।

    साथै भेठमा उनीहरुहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउने सम्बन्धमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।

    भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताइन् ।

    राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।

  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

    सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिवार साँझ भेटवार्ता भएको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए ।

    भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहेको चर्चा गर्दै दुबै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्र संघको आदर्शमा प्रतिवद्ध रहेको बताए ।

    सभामुख सापकोटाले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदारहरूको स्रोत देशको रूपमा मान्यता दिएर ठूलो संख्याका नेपाली कामदारलाई रोजगारी दिएकोमा धन्यवाद दिए । उनले मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवद्र्धनको सम्भावनामा जोड दिए ।

    मार्च २००३ देखि सुरु भएको दुई देशका राजधानीबीचको सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उनको भनाई थियो ।

    भेटमा मलेसियाका उपसभामुख मोहमद रसिद हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधि टोलीसँगको भेटप्रति खुसी व्यक्त गरे । सो भेटमा नेपाली प्रतिनिधि टोलीका सदस्यहरू पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए ।

  • एमालेको विज्ञप्तिप्रति सभामुखको आपत्ति, आरोप पुष्टि गर्न चुनौती

    एमालेको विज्ञप्तिप्रति सभामुखको आपत्ति, आरोप पुष्टि गर्न चुनौती

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भ्रामक आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

    एमसीसी पारित भएपछि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख एक प्रसंगप्रति सभामुख अग्निप्रसाद सापकोटाले आपत्ति जनाएका हुन् ।

    ‘एमसीसी प्रस्ताव संसदमा टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिएको’ भन्ने ‌एमालेको आरोपका सम्बन्धमा सभामुखको सचिवालयले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।

    साथै विज्ञप्तिमा सभामुखमाथि लगाइएको आरोपलाई पुष्टि गर्न चुनौती पनि दिइएको छ ।

    हेर्नुहोस्, विज्ञप्ति :

    प्रेस नोट

    सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको विषय स्पष्ट गर्न यो प्रेस नोट जारी गरिएको छ ।

    देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

    लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।

    नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ ।

    उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।

    आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।

    १८ फागुन २०७८
    श्रीधर न्यौपाने
    प्रेस विज्ञ

  • सभामुखले राजीनामा नदिए महाअभियाेग !

    सभामुखले राजीनामा नदिए महाअभियाेग !

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन् ।

    एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए ।

    यद्यपी अध्यक्ष ओलीले सभामुख सापकोटाको स-सम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको बताए ।

    उनले भने ‘नेकपा एमाले एउटा जिम्मेवार पार्टी हो । सभामुखमाथि महाअभियोग ल्याउँदैन भन्ने पनि छैन । ल्याउन सक्छ । ल्याउँछ नै भन्ने पनि छैन । उहाँले राजीनामा गर्नुभयो भने नल्याउन सक्छ । हामी उहाँको राजीनामा पर्खिराखेका छौँ । स-सम्मान बर्हिगमन हुनुस् । ससम्मान हटनुस् । कमसेकम संसदले निस्काशन गर्नुपर्‍यो भन्ने नहोस् ।’

    संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे ।

    ‘एमसीसीको ब्याख्यात्मक घोषणासँग कुनै सम्बन्ध छैन। यो लाज छोप्नका लागि ल्याइएको हो। व्याख्यात्मक घोषणा नेपाली जनतालाई झुक्याउने, अलमल्याउने, धोका दिने एउटा ठगी धन्दा हो। त्यो भन्दा माथि केही पनि होईन यो व्याख्यात्मक घोषणा,’ ओलीले भने।