Tag: स्थानीय तह चुनाव

  • स्थानीय तह चुनावमा वडामा कुन दलले कति ल्याए मत ?

    स्थानीय तह चुनावमा वडामा कुन दलले कति ल्याए मत ?

    काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मत परिणाम सार्वजनिक गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै दलहरूले वडामा पाएको मतका आधारमा मत सार्वजनिक गरेको हो ।

    सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले एमालेभन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगले जनाएको छ । त्यसैगरी, नेकपा एमाले कुल मतको ३३‍.३ प्रतिशतसहित दोस्रो स्थानमा छ ।

    आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४‍.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।

    आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।

    माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।

  • एमालेकाे थपियाे एक सिट, स्थानीय तह चुनावमा कुन पार्टीकाे कति सिट ?

    एमालेकाे थपियाे एक सिट, स्थानीय तह चुनावमा कुन पार्टीकाे कति सिट ?

    काठमाडाैं । स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा एमालेले एक सिट थपेको छ । बाजुराको बुढीगंगा नगरपालिकामा जित निकालेपछि अब एमालेले जितेका पालिकाको संख्या २०६ पुगेको छ ।

    देशभरका ७५३ पालिकामध्ये २०६ पालिकाकाे प्रमुख तथा अध्यक्ष जितेको एमाले समग्रमा दोस्रो ठूलो दल बनेको हो । उसले उपप्रमुख तथा उपाध्यक्षमा २४१ सिट जितेकाे छ ।

    नेपाली कांग्रेस ३२९ पालिका प्रमुख तथा अध्यक्ष जितेर पहिलो स्थानमा छ । कांग्रेसले उपप्रमुख तथा उपाध्यक्ष पदमा भने ३०१ ठाउँमा मात्रै जितेकाे छ ।

    नेकपा माओवादी केन्द्र १२१ पालिका जितेर तेस्रो भएको छ । उसले उपप्रमुख तथा उपाध्यक्ष पदमा १२६ पालिकामा जितेकाे छ ।

    जनता समाजवादी पार्टीले ३० तथा नेकपा एकीकृत समाजवादीले २० वटा पालिकाको प्रमुख जितेका छन् । जसपाले उपप्रमुख तथा उपाध्यक्षमा २४ तथा एकीकृत समाजवादीले १८ ठाउँमा जितेका छन् ।

    यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । उसले उपप्रमुख तथा उपाध्यक्षमा १२ ठाउँमा जित निकालेकाे थियाे ।

    पाँचदलीय गठबन्धन मिलेर चुनाव लड्दा एमालेले पनि केही ठाउँमा राप्रपा लगायतका दलसँग सहकार्य गरेकाे थियाे ।

     

  • बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी

    बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी

    धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाकाे अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्धी रङ्गबहादुर खाती तीन हजार सात सय ७४ मत ल्याएर पराजित भएका छन् ।

    यसैगरी, उपमेयरमा विजयी एमाले उम्मेदवार कुँवरले चार हजार सात सय २७ मत ल्याउदा प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी रिता शाही ( शाह) तीन हजार सात सय ५५ मत ल्याएर पराजित भएकी छन् ।

    १० वडा रहेको बुढीगंगा नगरपालिकामा सात वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले तीन वडा जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ ।

    बुढीगंगा नगरपालिका-१ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी, ९ मा मीनबहादुर सिंह र १० दलबहादुर साउद विजयी भएका छन् ।

    नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर–४ मा मीनबहादुर शाह, ७ मा भुवन सिहं केसी र ८ मा रमेशबहादुर रावल विजयी भएका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा दोस्राे पटक निर्वाचन गरेको हो । दोस्रो पटक भएको निर्वाचनमा नाै हजार एक सय २८ मत ६६ दशमलव ८३ प्रतिशत मत खेसेको थियो । बुढीगंगामा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् ।

    ३० वैशाखमा सम्पन्न चुनावमा भने ७५ दशमलव ५८ प्रतिशत मत खसेको थियो । ३० वैशाखमा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो ।

    वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको निर्वाचन आयोगको ठम्याइ छ । निर्वाचन आयोगका अनुसार वडा नमबर २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए ।

  • बुढीगंगा प्रमुख र उपप्रमुखमै एमाले निर्वाचित

    बुढीगंगा प्रमुख र उपप्रमुखमै एमाले निर्वाचित

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

    स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

    एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

    यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

  • बुढीगंगा नगरपालिकाको मतदानमा फेरि तनाव, प्रहरीद्वारा हवाइ फायर

    बुढीगंगा नगरपालिकाको मतदानमा फेरि तनाव, प्रहरीद्वारा हवाइ फायर

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा तनाव भएको छ ।

    नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मदतान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा तनाव भएको हो ।

    दुई पक्षको विवाद स्थिति बाहिर गएपछि प्रहरीले हवाइ फायर गरेको थियो ।

    प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले केहीबेर तनाव भए पनि अहिले स्थिति शान्त भएर पुनः मतदान जारी रहेको बताए ।

    वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र एमाले दुवै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगा नगरपालिकाको निर्वाचन बदर गरेको थियो ।

    सर्वदलीय छलफलमा पुनः मतदान गर्ने सहमति जुटेपछि बुढीगंगा नगरपालिकाको प्रतिनिधि चयन गर्न बिहीबार मतदान हुन लागेको हो ।

    मतदानमा सम्भावित झडपका आशंकामा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते मतदान

    बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते मतदान

    काठमाडाैं । पुनः मतदान गर्न निर्वाचन आयोगले निर्णय गरेको बाजुराको बुढीगंगा नगरपालिकामा यही असार २३ मा मतदान हुने भएको छ ।

    बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले २३ असार बिहीबारका लागि मतदानको मिति तोकिएको जानकारी दिए ।

    गएको ३० वैशाखमा मतदान भए पनि कांग्रेस र एमालेले एकअर्कामाथि बुथ कब्जाको आरोप लगाएका थिए । त्यसपछि निर्वाचन आयोगको टोली पुगेर छानबनिसमेत गरेको थियो । आयोगले पुनः मतदान गर्ने निर्णय गरे पनि मिति तोकिएको थिएन ।

    अब मिति तोकिएकाले सम्पूर्ण तयारीहरू थालिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । उनले सुरक्षा व्यवस्था कडा पारिने बताए ।

  • बाजुराको बुढीगङ्गामा पुनः मतदान हुने

    बाजुराको बुढीगङ्गामा पुनः मतदान हुने

    काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

    आयोगको बिहीबारकाे बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम सो निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी जानकरी दिएका हुन् । गत वैशाख ३० गते सो पालिकामा भएको मतदानमा राजनीतिक विवाद भएपछि आयोगले आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा छानविन टोली स्थलगतरूपमा खटाएको थियो ।

    आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले निजहरुलाई तीन दिनभित्र हटाई सो पदमा अन्य कर्मचारीलाई खटाउन पनि निर्देशन दिएको छ ।

    आयोगले ती पदमा जिम्मेवार कर्मचारी खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयललाई निर्देशन दिनाका साथै निजहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३८ को उपदफा १ बमोजिम मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

  • काठमाडाैंकाे उपमेयरमा विजयी सुनिताले कति पाइन् मत ?

    काठमाडाैंकाे उपमेयरमा विजयी सुनिताले कति पाइन् मत ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डंगोल भारी मतका साथ विजयी भएकी छन् ।

    सुनिता ४४ हजार ८०६ मतान्तरसहित विजयी भएकी हुन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए ।

    यस्तै, स्वतन्त्र उमेदवार विद्या श्रेष्ठ (महर्जन)ले १३ हजार ६९५ मत प्राप्त गरिन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बिनिता मगैयाले १२ हजार १४१ मत पाउँदा अर्का स्वतन्त्र उमेदवार वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत प्राप्त गरे ।

  • काठमाडाैंकाे मतगणना अपडेट : बालेन साहकाे मत ६० हजार बढी

    काठमाडाैंकाे मतगणना अपडेट : बालेन साहकाे मत ६० हजार बढी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लाे मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६० हजार मत कटाएका छन् ।

    उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् ।

    कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापित निकै पछाडि परेका छन् । मतगणना लगभग अन्त्यतिर आइपुगेकाे छ । काठमाडाैंकाे मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल विजयी भइसकेका छन् ।

  • यी हुन् अब मत परिणाम आउन बाँकी चार पालिका

    यी हुन् अब मत परिणाम आउन बाँकी चार पालिका

    काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

    मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए ।

    सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

    बिहीबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । यस्तै, जनता समाजवादी पार्टी चौथो स्थानमा छ भने १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा छ । लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४-४ पालिकामा प्रमुख पद जितेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १-१ पालिकामा प्रमुख पद जितेका छन् । यस्तै, स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन् ।