काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा तनाव भएको छ ।
नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मदतान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा तनाव भएको हो ।
दुई पक्षको विवाद स्थिति बाहिर गएपछि प्रहरीले हवाइ फायर गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले केहीबेर तनाव भए पनि अहिले स्थिति शान्त भएर पुनः मतदान जारी रहेको बताए ।
वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र एमाले दुवै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगा नगरपालिकाको निर्वाचन बदर गरेको थियो ।
सर्वदलीय छलफलमा पुनः मतदान गर्ने सहमति जुटेपछि बुढीगंगा नगरपालिकाको प्रतिनिधि चयन गर्न बिहीबार मतदान हुन लागेको हो ।
मतदानमा सम्भावित झडपका आशंकामा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।