एक पटक पुन: सभापतिमा उठ्छु, सहयाेग गर्नुस् : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापति बन्ने चहनामा आफू रहेकाले सहयाेग गर्न अपील गरेका छन् ।

साेमबार बालुवाटारमा आयाेजित पत्रकार सम्मेलनमा देउवाले सञ्चारकर्मीहरुलाई सहयाेग गर्न अपील गरेका हुन् ।

‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईँहरुमार्फत पनि आग्रह गर्न चाहन्छु’ उनले भने ।

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ थियाे ।

कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।