म्यानमारकी नेतृ आङ सान सुकीलाई ४ वर्षको जेल सजाय

काठमाडाैं ।  म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षकाे जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजाय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमा नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाकाे आराेप छ ।

गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो ।

सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो । उक्त चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो ।

सेनाले कू गरेपछि म्यानमारमा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन् । ती प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म १३ सय बढी नागरिकले ज्यान गुमाएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१