कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र ११ सय बुथ

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाअधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी १ हजार १ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ। मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१