मेलम्ची– ९ गुफा डाँडामा तेस्रो राष्ट्रिय जलवायु दिवस मनाइने

सिन्धुपाल्चाेक । यस वर्ष पनि मेलम्ची– ९ गुफा डाँडामा तेस्रो राष्ट्रिय जलवायु दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गुफा डाँडामा जलवायु दिवस मनाउन लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

‘वातावरण जोगाऔँ पृथ्वीलाई बचाऔँ’ भन्ने नाराका साथ काठमाडौँबाट साइकल यात्रा गरेर जलवायु दिवस मनाउन लागिएको तामाङको भनाइ छ । आउँदो पुस १७ गते काठमाडौँबाट मेलम्ची–९ गुफा डाँडासम्म साइकल यात्रा गरी दिवसको सुरुआत गरिनेछ । साथै सो अवसरमा सिन्धुपाल्चोक जिल्लाबाट हालसम्म विद्यावारिधि गर्नेलाई समेत सम्मान गरिने कार्यक्रम छ । सोही दिन बेलुका मेलम्चीमा साइकलयात्री र विद्यावारिधि गरेर सम्मानित भएकाबीच अन्तरक्रिया कार्यक्रम रहेकोसमेत तामाङले बताए ।

स्थानीय तहका जनप्रतिनिधि र जलवायुसम्बन्धी विज्ञको सुझावका आधारमा जलवायु अनुकूलनसम्बन्धी विशेष योजनासमेत सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने तामाङले जानकारी दिए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गत वर्षमा पनि जलवायु सम्मेलन गरिँदै आएको थियो । त्यसैलाई जलवायु दिवसका रूपमा मनाउन लागिएको तामाङको भनाइ छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१