भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

जापान । भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ ।

यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध हुँदा तीन हजार २०० भन्दा बढी परिवारहरू विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य बनेका छन् । अधिकारीहरूले सोमबार राति पनि थप हिउँ पर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन् ।

हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै चोट वा मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए ।

मात्सुनोले भने, ‘हिउँदे वायुको कडा चापको केन्द्र उक्त क्षेत्रमा परेकाले भारी हिउँ परेको र मुख्यतया उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको छ । भोलि हिउँको मात्रा बढ्ने अनुमान गरिएको छ । अझ बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ ।’

अलपत्र परेका गाडीहरूको कारण शिगा क्षेत्रको एउटा प्रमुख सडक बन्द गरिएको भएपनि अपरान्हतिर गाडीहरू चल्न थालेका टिभी फुटेजमा देखिएको मात्सुनोले बताए ।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो । उक्त स्थानमा सोमबार बिहानसम्म २४ घण्टाको अन्तरालमा ६८ सेन्टिमिटर हिउँको सतह बनेको एनएचकेले बताएको छ ।

एनएचकेले यस क्षेत्रको स्थानीय रेल लाइनमा रेल फसेपछि रातभर झन्डै २०० यात्रुहरू हिउँमा अलपत्र परेको बताएको छ ।

हिउँको कारण आइतबार पनि लगभग १३० घरेलु उडान रद्द गरिएको जिजी प्रेसले बताएको छ । सोमबार लगभग ५० उडान रद्द भएका एनएचकेले जापानी उड्ययन अधिकारी उद्धृत गरी समाचार प्रकाशन गरेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१