सरकार बचाउनुपर्ने सेनापतिहरु अरुसँग बिके अनि मेराे सरकार ढल्याे : केपी ओली (भिडिओसहित)

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफैँ अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् ।

शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आफ्नो हालत बंगाली नवावकाे जस्ताे भएकाे भनी चर्चा गरेका हुन् । बंगाल राज्य बचाउनुपर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको बताए ।

अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिकेकाले आफ्नो सरकार ढलेको उनकाे भनाइ थियाे ।

आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको उनले दाबी गरे ।

अध्यक्ष ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे ।

‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने ।

ओलीले आफ्नो पार्टीले नेपाल बनाउने दाबी पनि गरे । ‘नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो,’ उनले भने ।

यसअघि फरक प्रसंगमा ओलीले नेपाल देश जीवनमय भएकोले नयाँ बिरुवा लगाउनु नपर्ने र भएको नमास्दा मात्रै पुग्ने पनि बताए ।

‘हाम्रो देश जीवनमय देश छ । पहिले गंड्यौला, बाँदर, बाघभालु, हात्तिगैंडाको खेती पहिले कसले गर्थ्यो ? सालघारी, सिसौ, खयर कसले लगाएका हुन् ? यार्चागुम्बा कसले उमारेका हुन् ? आफैं उम्रिन्छ । निमा रुख कसले उमारे ? सबै आफैं उम्रिन्छ । झारपात आफैं उम्रिन्छ । फलफूल आफैं उम्रिन्छ’ ओलीले भने, ‘आरा बन्चरो लिएर जंगल नपस्ने हो भने दस वर्षमा देश जंगलमय भइसक्छ । बिरुवा उमार्नका लागि केही गर्नु नै पर्दैन । खाली नमासे पुग्छ ।’

हेर्नुहाेस् भिडियो :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१