राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न मिलन पाण्डे समूहकाे चेतावनी

काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकीकरण गर्ने कुरा अध्यक्ष रवीन्द्र मिश्रले सञ्चारमाध्यममा जानकारी गराएपछि विवेकशील साझाकाे नाम दुरुपयाेग नगर्न चेतावनी दिएको छ ।

शुक्रबार मिश्रकाे घर पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी एकताको प्रस्ताव राखेको र त्यसमा रवीन्द्र मिश्र पनि सकारात्मक देखिएको खबर सार्वजनिक भएपछि पाण्डे समूहतर्फका विवेकशील साझा पार्टीका प्रवक्ता हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ,‘विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे स्वयं रविन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाइप्रति हाम्रो गम्भीर विमति छ । यस्तो ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौँ ।’

पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्मविपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन पनि पार्टी सदस्यहरूलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१