माओवादीले छान्यो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार तय गरेका हुन् ।दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको सोमबार दिउँसो बसेको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको थियो ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ ।

त्यसअनुसार यस पटक सातै प्रदेशमा एक महिला, १ अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७