प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारमा जान मन्त्री श्रेष्ठकाे सुझाव

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सबै  प्रक्रिया बुझेर मात्र वैदेशिक रोजगारमा जान सुझाव दिएका छन् ।

काठमाडौं । मंगलबार सिंहदरबारमा युएई गई अलपत्र परेर नेपाल फर्काइएकाहरुसंगको छलफलका क्रममा मन्त्री श्रेष्ठले राज्यका विभिन्न निकाय र सम्बन्धित कम्पनीका विषयमा बुझेरमात्र मात्र वैदेशिक रोजगारमा जान सुझाव दिएका हुन् । भिजिट भिसा प्रयोग गर्नेहरु अलपत्र पर्ने क्रम बढेको भन्दै उनले यस क्षेत्रमा देखिएको बिकृतिलाई अन्त्य गर्ने प्रतिवद्धता जनाए । उनले युएइमा नै गएर नेपालीहरुले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिने जानकारी दिए । उनले हजारौ नेपालीहरु अलपत्र परेको सूचना आएको भन्दै यस विषयमा मन्त्रालय गम्भीर रहेको बताए ।

छलफलका क्रममा युएइबाट फर्केका पीडितहरुले म्यानपावरलाई भनेबमोजिमको पैसा दिदा पनि आफुहरुलाई अलपत्र पारेको गुनासो गरेका थिए । युएइमा निकै कष्टकर रुपमा आफुहरुलाई राखिएको उनीहरुले बताए । उनीहरुले आफुहरुलाई अलपत्र पार्ने म्यानपावरलाई कडा कारवाही गर्न माग गरेका छन् ।

टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका नेपालीलाई आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हो । युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ समेत गरिसकेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१