क्रेडिट दिएपछि धन्यवादसहित अञ्जुले भनिन्- ‘भुल सुधार गरेर सिक्दै जाने हाे’

काठमाडाैं । गजल ‘न बिर्से तिमीलाई…’ को नयाँ भर्जनमा क्रेडिट दिएपछि गायिका अञ्जु पन्तले गजल निर्माण टिमलाई धन्यवाद दिएकी छन् ।

बुधबार अञ्जुले नयाँ गीत रेकर्ड गर्दा पुरानो सर्जकको नाम नराख्दा संस्कारमा नकारात्मक प्रभाव पर्ने बताएकी थिइन् । अहिले उक्त गीतमा पुराना सर्जकहरुको पहिचान खुलाइएकाे छ ।

फेसबुकमा अञ्जुले लेखेकी छन्, ‘मानिसबाट कहिलेकाहीँ जान अञ्जानमा भूल हुन्छ, यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले । विपिन भाइसँगको बातचितपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल गायकको नाम लिंकसमेत राख्नुभएको छ, यो काम प्रशंसनीय छ । भविष्यमा हामी सबै मिलेर नेपाली गीत संगीतको उन्नतीका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौँ ।’

उनले नयाँ भर्जन गाएकी गायिका रचना रिमाललाई धेरै माया र आशिर्वाद पनि भनेकी छन् ।

गीतकार विपिन किरणको शब्दमा एक दशक अगाडि रेकर्ड भइ सार्वजनिक भएको गजल ‘न बिर्से तिमीलाई…’ को नयाँ भर्जन रचनाले गाएकी थिइन् । गीत सार्वजनिक भएपछि पुराना सर्जककाे नाम उल्लेख नगरिएकाे भनी विवाद भएकाे थियाे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१