नेप्सेमा १०१ अङ्कको पहिरो, करिब ६ अर्बकाे काराेबार

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आइतबार धितोपत्र बजारमा १०१.२४ अङ्कको पहिरो गएको छ ।

धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रतिशतले घटेर २ हजार ७००.३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अङ्कले ओरालो लागेर ५११.६६ मा आएको छ ।

आइतबारको कारोबारमा कूल २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर रु ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । जसमा बैंकिङ ४२.६६, व्यापार ६८.२३ होटेल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत् १८४.८८, वित्त ११२.१४, निर्जीवन बीमा ५५२.५४, उत्पादन ३३५.७१, लघुवित्त १८६.३६, जीवन बीमा ६०४.८८, लगानी ४.८ अन्य ७३.२५ र सामूहिक लगानी कोष ०.१५ अङ्कले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आइतबार अप्पर तामाकोसी कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३२ करोड ८४ लाख आठ हजार ९४४ बराबरको कारोबार भयो । यस्तै अरुणभ्याली हाइड्रोपावर रु २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक रु २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर रु २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको रु २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे भए ।

आइतबारको कारोबारमा कूल २२७ कम्पनीमध्ये २२१ कम्पनीका शेयरमूल्य घटेका छन् । कारोबार भएकामध्ये अप्पर तामाकोसीको शेयरको मूल्य सबैभन्दा धेरै (८.३७) प्रतिशतले घटेको छ । त्यस्तै यस दिनको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक ८.२६, शिवश्री हाइड्रोपावर ७.७५, विन नेपाल लघुवित्त वित्तीय संस्था ७.५९ र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.५२ प्रतिशतले गुमाए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१