केपी ओलीकाे गुनासाे : एमसीसी उनीहरुले ल्याए, सडकमा मलाई ढुंगा हान्छन्

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सडकमा ढुंगाले हानिएकाेप्रति गुनासाे गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको भनि गुनासाे गरेका हुन् ।

ओलीले एमसिसी ल्याउनेहरूले नै सडकमा तमासा देखाएको र देशमा शान्ति सुव्यवस्था नरहेको दाबी पनि गरे । ‘देशमा शान्ति सुव्यवस्था छैन, तमासा पनि हदको हुन्छ नि,’ उनले भने, ‘सरकारमा पनि उनै छन्, कार्यकर्ता पठाएर बाटो भत्काउन पठाउँछन्, प्रहरी र मान्छे देख्नै हुँदैन, ढुङ्गा हान्छन् ।’

एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हानेको पनि उनले आराेप लगाए । उनले भने, ‘त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबुल गरेका छन् सभामुखले ढुंगा हानिदैन । एमसीसी ठिक छ भनेर वार्ता गरेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन । प्रचण्डका पालमा अगाडि बढ्यो । प्रचण्ड, शेरबहादुर देउवाको संयुक्त सरकारका बेला महराले टुंग्याउनुभयो । ज्ञानेन्द्र कार्कीले वासिङटन डिसीमा गएर सम्झौता गर्नुभयो । उहाँहरुको सरकारले गर्‍यो । ती सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन । म बाटाबाट हिँड्छु ढुंगा हान्छन् ।’

तत्कालीन एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा अमेरिकासँग एमसिसी माग गरेको ओलीले दाबी गरे । अध्यक्ष ओलीले देश कसरी बनाउने भनेर अरू पार्टीसँग विचार नरहेको पनि बताए । उनले भने, ‘हामी सरकारबाट हटेपछि देशमा विकासको चर्चा हुँदैन, गठबन्धनको हुन्छ ।’

उनले अहिले सरकार पैसा माग्नका लागि हात थापेर हिँडेकाे तर कसैले नपत्याएकाे टिप्पणीसमेत गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१