बालुवाटारमा गठबन्धन बैठक,व्याख्यात्मक टिप्पणीसहित एमसीसीमा सहमति खोज्ने प्रयास

काठमाडौं । एमसिसीबारे अन्तिम सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो । एमसीसी मुद्दा पेचिलो बन्दै जाँदा गठबन्धन नै भत्किने सम्भावना बढ्दै गएपछि सत्तारुढ दल छलफलमा बस्न लागेका हुन् ।

आइतबारको बैठकमा एमसीसीलाई संसदमा व्याख्यात्मक टिप्पणी प्रस्ताव लगेर टुंग्याउने र गठबन्धनलाई कायम राखेर जाने प्रक्रियामा सहमतिको प्रयास हुने गठबन्धनका नेताहरु बताएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीमा सत्तारुढ दलले सहयोग नगरे नेकपा एमालेको साथ लिएर एमसीसी पास गर्ने भन्दै एमाले नेतासँग छलफल समेत बढाएका थिए । एमालेले सभामुखलाई कारबाही वा माधव नेपाल सहित १४ जना संसदलाई कारबाही गरे एमसीसीमा सघाउन तयार रहेको बताइएको थियो । तर एमालेसँग उक्त कुरामा सहमति जुट्न नसकेपछि गठबन्धनभित्रैबाट एमसीसी टुंगो लगाउने बिन्दुमा आइपुगेका छन् ।

नेकपा (एकीकृत समाजवादी) एमसीसीमा रहेका केही प्रावधान सच्याएर अगाडि बढ्नुपर्ने पक्षमा छ । जनता समाजवादी पार्टी (जसपा)भित्र पनि यस विषयमा एकमत छैन । डा. बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव मौन छन् ।

आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । त्यसअघि गठबन्धनमा सहमति खोज्ने प्रयासस्वरूप बैठक बस्न लागेको हो ।

 

 

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१