
काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री नाफ्तली बेन्नेटसँग टेलिफोन वार्ता गरेका छन् ।
बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले ट्वीट गरी जानकारी दिएका छन् । त्यस्तै, जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री बेन्नेटसँग आफ्नो देशको पछिल्लो अवस्था र सहयोगबारे छलफल गरेका छन् ।
जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।
पश्चिमा र रुससँग बराबर सम्बन्ध राख्ने इजरायली प्रधानमन्त्रीको मस्को भ्रमणलाई युक्रेन युद्ध रोक्ने पहलको रुपमा विश्लेषण गरिएको छ ।