
काठमाडाैं । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा (माओवादी केन्द्र) का नेता-कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामो स्टाटस लेखेर उनले स्पष्टिकरण दिएका हुन् । सपुतले आफ्नो गीतको भिडिओका दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेको भए आत्मआलोचना गर्ने पनि बताएका छन् ।
गायक सपुतले आफूलाई निरुत्साहित नपारिदन आग्रह पनि गरेका छन् ।
यस्ताे छ उनले लेखेको स्टाटस :
नमस्कार !
‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरू सबैलाई धेरै-धेरै धन्यवाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु ।
गीतले भन्न चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ । एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरू (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।
‘पिर’बाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हौँ । समानताको लागि एकसाथ लडेका कमरेडहरू बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौँ । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हौँ । मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिँदै/पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?
जसरी यसअघिका गीतहरू ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’, ‘कुरा बुझ्न पर्छ’ गीतहरूमा कथा बुन्थें, पात्र बनाउथें, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड/छायाङकन गर्थेँ । यसमा पनि त्यही प्रक्रिया छ ।
गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरू पुर्व लडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’। यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरेँ। केही पात्रहरू पढेँ । आम मानिसका भोगाई र संवेदनाहरू बुनेँ र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यहि हो ।
एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाइ आउँदैन । त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतीकात्मक रूपमा राखिएका यस्ता दृष्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडिओको सुरूमा यो कुरा लेखेको पनि छु । माफी मागेको छु । अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना-मदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अ़क्षरश: हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युद्ध/आन्दोलन गणतन्त्र/स्वतन्त्रताको अपमान हुने हो कि? म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो । आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग/ सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौँ तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ।
मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला । कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष/विपक्षमा एकोहोरो भइन्छ । नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौँ, समिक्षा गरौँ । तर गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गरौँ । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन-जुन दृष्यले सन्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ । त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु । कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई द्वुविधामा नपारौँ । न अल्झाउँ । किनकी समाजमा टिप्नुपर्ने कैयौँ कथा छन्, गाउनुपर्ने कयौँ, गित छन् । तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौँ प्रश्नहरू छन् । प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस् ।