भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा निर्माण गरिएकाे खानेपानी परियाेजनाकाे उद्घाटन गरिएकाे छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको उद्घाटन राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले साेमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका अधिकारीलगायत स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको हो ।

यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ । यस परियोजनाले विशेष गरी त्यस क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१