कमजाेर ब्याटिङका कारण यूएईसँग नेपाल पराजित

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ ।

शुक्रबार भएको खेलमा घरेलु टोली यूएई नेपालविरुद्ध ४८ रनले विजयी भएकाे हाे । यूएईले दिएको १६९ रनको सामान्य लक्ष्य नेपालले पछ्याउन सकेन ।

नेपाल ३५. १ ओभरमा १२० रनमा समेटिएको हो । नेपालका रोहित पौडेलले सर्वाधिक ४६ र ज्ञानेन्द्र मल्लले २८ रन बनाए । कुशल भुर्तेल ११, आसिफ शेख ७ र दीपेन्द्रसिंह ऐरीले ४ रन मात्र जोड्न सके भने आरिफ शेखले खाता खोल्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो ।

नेपालका सोमपाल कामीले चार र करन केसीले ३ विकेट लिए । सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे ।

पहिलो खेलमा नेपालले पपुआ न्युगिनीलाई २ विकेटले हराएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१