
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।
स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ । उनले कम्युनिष्ट सरकारलाई केही ‘अन्तरे जन्तरे’ले ढालिदिएको पनि बताएका छन्।
सम्बोधनका क्रममा उनले एमाले छाडिसकेका सांसद र मेयर-उपमेयरहरुले उक्त पदमा बसिरहन नमिल्ने पनि बताएका छन्।
‘एमालेबाट निर्वाचित भएकाहरुले पार्टी छाडिसकेपछि भत्ता खाएर बसिरहन मिल्दैन’, उनले भने, ‘एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाए, विदेश नगई बसे, रोजगारी छाडेर सघाए, पार्टीको पक्षमा पसिना बगाए। तर अहिले एमाले छाडेका तिनै अन्तरे-जन्तरे भत्ता खाएर बसेका छन्। उनीहरुले राजीनामा दिनुपर्दैन?’, उनले भने, ‘एमालेले लगाइदिएको सांसदको फुली, मेयरको फुली फिर्ता गर्नुपर्दैन? कति साह्रो लाज नभएको! एमालेले टाँसेका जुँगा त खौरिनुपर्छ। तिनै जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्दैछन्? बाकस कसको खाली हुन्छ म भन्दिनँ, जनताले वैशाख ३० गते जवाफ दिनेछन्, तपाईंहरूले दिनुहुनेछ।’