निर्वाचन आयोगले सत्तारुढ दलसंग सेटिङ् गर्यो:केपी शर्मा ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका छन् । एमालेको पहिलो पोटिव्युरो बैठकमा ओलीले नेकपा एमालेको फुटमा निर्वाचन आयोगको भूमिका ‘मतियार’का रुपमा देखिएको भन्दै अहिले पनि सत्तारुढ दलसँग सेटिङ् गरेको आरोप लगाए ।

“निर्वाचन आयोगले गलत मनसाय राखेर गएको थाहा पाउँदापाउँदै सत्तारुढ दलसँगको मिलेमतोमा एमाले फुटाउनेहरुलाई दलको मान्यता दियो,” ओलीले भने, “सत्तारुढ दलकै मिलेमतोमा निर्वाचन आयोगले मतपत्रको रङ् पनि बदलेको छ ।” उनले कांग्रेसको रुख हरियो बनाउन हरियो रङको प्रयोग गरिएको बताए ।उनले निर्वाचन आयोगका गतिविधिले सिरहा र भरतपुर घटना दोहोरिने संकेत गरेकोभन्दै यसपटक मतपेटिका आँखाबाट ओझेल पर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए ।

“विगतमा सुनसरी ३ नम्बर क्षेत्रमा ढोका हुँदाहुँदै झ्यालमा भर्याङ हालियो र मतपेटिका हेराफेरी नसकिँदासम्म भर्याङबाटै ओहोरदोहोर गरियो,” ओलीले भने, “अहिले एमालेकै बहुमत आउँछ भनेर नजाँनिदो रुपमा चुनाव सार्ने खेल पनि चलिरहैकै छ ।”

उनले एमालेले सचेततापूर्वक निर्वाचनमा भाग लिन लागेको भन्दै निर्वाचन आयोगलाई रित्तो पार्ने विषयमा पनि षडयन्त्र भइरहेको बताए ।

“तीनजना आयुक्तको नियुक्ति खारेज गरेर दुईजनाबाट निर्वाचन गराउन सकिन्छ÷सकिँदैन भनेर बहस भइरहेको छ,” ओलीले भने, “त्यसोगर्दा आयोगले नै सकिँदैन भनेर निर्वाचन सार्न पाइयोस् भन्ने गठबन्धनको चाहना छ ।”

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१