श्रीलंकामा आर्थिक संकटका कारण परिक्षा स्थगित

काठमाडाैं । श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटका कारण श्रीलंकाले कागज समेत खरिद गर्न सकेकाे छैन । कागज अभावका कारण विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेकाे बिभिन्न संचार माध्यमले जनाएका छान् ।

साेमबारबाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकालका लागि रद्ध गरिएको समाचारमा उल्लेख छ । परीक्षा रोकिंदा लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा परेको जनाएकाे छ ।

वस्तु आयात गर्न डलरको अभाव छ । सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब वित्तीय संकटबाट श्रीलंका गुज्रिरहेको छ । विदेशी मुद्राकाे अभावमा परीक्षाकाे लागी चाहिने सामाग्री, कागज र मसी आयात गर्न नसकिएकाे श्रीलंकाको पश्चिमी प्रान्तको शिक्षा विभागले जनाएकाे समचारमा उल्लेख छ ।

विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित भएको छ । जसका कारण श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ काे समस्या व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ । इन्धन किन्नेहरुको पनि पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ ।

संचार माध्यमका अनुसार यसै वर्ष श्रीलंकामाथि करिब ७ अर्ब डलर ऋण तिर्नुपर्ने जिम्मेदारी रहेकाे तर फेब्रुअरी महिनाको अन्त्यसम्म विदेशी मुद्रा भण्डार केबल २.३ अर्ब डलर रहेको समाचार सार्वजनिक भएको थियो ।

रुस–युक्रेन युद्धका कारण बढेको विश्व बजारकाे महँगीले पनि श्रीलंका थप समस्यामा परेको माध्यमले जनाएकाे छ ।

आर्थिक संकट गहिरिंदै गएपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग मागेको थियो । श्रीलंकाले मुख्य सहयोगी राष्ट्र चीनसँग पनि आर्थिक सहयोग मागेको समाचार सार्वजनिक भएको थियो ।

आर्थिक संकटमा फसेको श्रीलंकाका लागि भारतले एक अर्ब डलर ऋण सुविधा प्रदान गर्ने घोषणा बिहीबार गरेको थियो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे तीन दिने भ्रमणका लागि बुधबार भारतको राजधानी नयाँदिल्ली आएको बेला सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको विभिन्न समचार माध्यमले जनाएका छन्

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१