काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार रु १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आर्थिक वर्षकाे पहिलो आठ महिनामा रु १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आर्थिक वर्ष मा ४२ दशमलव १३ प्रतिशतले बढेको हो ।
वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आर्थिक वर्ष को पहिलो आठ महिनाको तुलनामा चालु आर्थिक वर्ष मा ३४ दशमलव ५० प्रतिशतले बढेर रु ११ खर्ब ६० अर्बभन्दा धेरै पुगेको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म यस्तो घाटा रु आठ खर्ब ६३ अर्ब माथि थियो ।
विभागका अनुसार गत आर्थिक वर्षको पहिलो आठ महिनाका आधारमा मुलुकमा आयात ३८ दशमलव ६४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु नौ खर्ब ४३ अर्ब मूल्य बराबरको आयात भएकामा चालु आर्थिक वर्ष को समीक्षा अवधिसम्म आयात रु १३ खर्ब आठ अर्ब पुगेको छ ।
त्यस्तै २०७७/७८को पहिलो आठ महिनाका तुलनामा चालु आर्थिक वर्षको निर्यात ८२ दशमलव ९० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म रु ८० अर्ब ७७ करोड बराबरको निर्यात भएकामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब ४७ अर्ब बढीकोे निर्यात भएको छ ।
सार्वजनिक विवरणअनुसार गत वर्षको पहिलो आठ महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव १२ प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ४५ प्रतिशतले घटेर चालु आर्थिक वर्षमा ८९ दशमलव ८६ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८ दशमलव ६९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ८८ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा १० दशमलव १४ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको आठ महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै छ । यस आर्थिक वर्षको फागुन महिनासम्म मुलुकमा रु ८७ अर्ब ८३ करोड मूल्यभन्दा धेरैको डिजेल भित्रिएको छ । त्यस्तै एलपी ग्यास रु ४० अर्ब ६४ करोड बराबरको तथा पेट्रोल रु ३९ अर्ब ८५ करोड बढीको भित्रिएको विभागले जनाएको छ ।
त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कअनुसार स्वदेशबाट रु ४१ अर्ब ४० करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाएको छ ।
त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेल जस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रसोधनपश्चात निर्यात हुने गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्म रु ३५ अर्ब ३३ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।
त्यसैगरी रु नौ अर्ब ४९ करोड बराबरकोे गलैंँचा तथा टेक्सटायल, रु पाँच अर्ब ८९ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
भारतबाट मात्रै झन्डै आठ खर्ब बढीको आयात
सार्वजनिक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुनसम्म नेपालले भारतबाट करिब रु सात खर्ब ९७ अर्ब मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ भने रु एक खर्ब १८ अर्ब मूल्य बरोबरका वस्तु निर्यात भएको छ । जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै छ खर्ब ७८ अर्बभन्दा धेरै छ । त्यस्तै नेपालले चीनबाट रु एक खर्ब ८६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेकामा रु ५४ करोड ५८ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
विभागको विवरणअनुसार चालु वर्षको आठ महिनामा सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट रु चार खर्ब ६३ अर्ब बढी मूल्य बराबरको वस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु दुई खर्ब छ अर्ब र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु एक खर्ब ५७ अर्ब बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले वीरगञ्ज भन्सारबाट रु ६६ अर्ब ३६ करोड, विराटनगर भन्सारबाट रु ४१ अर्ब ७७ करोड तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु २१ अर्ब २७ करोड बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।