जेलेन्स्कीले गरे संसारभरिका मानिसलाई सडकमा उत्रन अपिल

काठमाडाैं । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गरी सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन् ।

रुसले स्वतन्त्रताविरुद्ध युद्ध सुरु गरेकाे उनले बताएका छन् । निरन्तरको रुसी हमला झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन् ।

आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा सम्बाेधन गरेका उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन् । उनले भने, ‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस् । देखिनुस् र सुनिनुस् । मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस् ।’

रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए ।

रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे ।

बीबीसी ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१