युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता

काठमाडाैं । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार संचार माध्यमले सोमबार जनाएको छ ।

स्थानीय समय अनुसार बिहान १०.३० बजे शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ ।

यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए ।’मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्,’ कुलेबाले ट्वीट गरेका छन् ।

रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल आइपुगेको समाचारमा उल्लेख छ । युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष वार्ताको तीन चरणहरू पार गरेका छन् भने चौथो चरण भिडियो मार्फत भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१