
काठमाडाैं । भारतीय राजदूतावासले मंगलबार काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएकाे छ ।
उक्त दिवसमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गरी भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रम शिक्षा मन्त्री देवेन्द्र पौडेलकाे आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा विशेष अतिथिका रुपमा नेपालका प्रधानसेनापति महारथी प्रभुराम शर्मा रहेका थिए ।
राजदूत क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई उनीहरुले राष्ट्रप्रति गरेकाे उल्लेखनीय सेवा र उनीहरुले प्राप्त गरेकाे उपलब्धिको कदरसहित सम्मान गरेका थिए ।
राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए । स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् ।
त्यस्तै, विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको छ ।
कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निर्वाध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको मन्त्री देवेन्द्र पौडेलले प्रशंशा गरेका थिए ।