श्रीलंकाली राष्ट्रपतिकाे निवास बाहिर विराेध प्रदर्शन, प्रदर्शनकारीमाथि कुटपिट

काठमाडाैं । खाद्यान्न, इन्धन र उर्जाको चरम अभाबका कारण श्रीलंकाली राष्ट्रपति गोताभाया राजपाक्षेको निवास बाहिर विरोध प्रदर्शन भएपछि कर्फ्यु लगाइएकाे छ ।

बिहीबार राति आक्रोसित भिडले प्रहरीले सडकमा तेर्साएका अवरोधहरु पार गर्दै एउटा बसमा आगजनीसमेत गरेको बताइएको छ । राष्ट्रपति राजपाक्षेले यस घटनामा ‘अतिवादी तत्व’को हात रहेको आरोप लगाएका छन् ।

अहिले विदेशी मुद्रा सटही समस्याका कारण श्रीलंकाले अत्यन्तै नाजुक अर्थतन्त्रको सामना गरिरहेको छ ।

१३ घन्टा लामो विद्युत् लोडसेडिङ, इन्धन र अत्यावश्यक खाद्य वस्तुलगायत औषधिको अभावका कारण जनआक्रोस उच्च विन्दुमा पुगेको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन अगाडि शान्तिपूर्ण ढंगले अघि बढिरहेका बेला प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थिति हिंसात्मक हुन पुगेको बीबीसीले जनाएको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रयोग गर्नुका साथै कुटपिटसमेत गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१