
कोलम्बो । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो ।
राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।
विगतमा, आपतकालीन आदेशले सेनालाई संदिग्धहरूलाई पक्राउ पूर्जी बिना पक्राउ गर्न र हिरासतमा राख्न अनुमति दिएको थियो । तर, प्रतिबन्धहरू प्रस्ट नभएको बताइन्छ । राष्ट्रपतिको आपतकालीन शक्तिहरू परिभाषित गर्ने नियमहरू जारी हुन बाँकी रहेको बताइएको छ ।
शुक्रबार दिउसो पसलहरु खुलेका र यातायात सामान्य रहेको थियो भने केही पेट्रोल पम्पमा प्रहरी तैनाथ थिए । सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालिन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन् ।
श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै, अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसंचार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ ।
नयाँ प्रतिबन्ध रोक्न पहलरुवरुप कठोर प्रतिबन्ध लगाइएको छ । बिहीबार एउटा भिडले राष्ट्रपतिको निजी आवासनजिक सबारी साधनहरूमा आगजनी गरेको थियो ।
टापुहरूको देश श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ । देशमा दैनिक १२ घन्टाभन्दा बढी समय लोडसेडिङ छ । इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिको अभावमा सर्वसाधारण मानिसहरू आक्रोशित छन् ।
बिहीबार राष्ट्रपति गोटाबायो राजापाक्षेको कोलम्बोस्थित घरबाहिर हिंसात्मक आन्दोलन भएको थियो । प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि पछि प्रहरी हस्तक्षेपका कारण हिंसात्मक बनेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्यास, पानीको छर्रा र लाठी प्रहार गरेपछि भीड अराजक बनेको थियो ।
ढुंगा प्रहार गरेर प्रदर्शनकारीले प्रहरीमाथि बदला लिएका थिए । प्रदर्शनकारीसँगको झडपमा कम्तीमा दुई दर्जन प्रहरी घाइते भएका छन् ।
श्रीलंका पछिल्लो समयमा चरम आर्थिक सकंटबाट गुज्रिरहेको छ । कागजको अभावमा लाखौँ परीक्षार्थीहरूको परीक्षा रोकिएको छ । त्यस्तै, अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव देखिन थालेको छ ।