
किभ । युक्रेनी अधिकारीहरूले राजधानी किभ र वरवरका सबै क्षेत्र पुनः युक्रेनी फौजको नियन्त्रणमा आएको दाबी गरेका छन् ।
केही सातायता देशको राजधानी निकट रहेका धेरै सहर र गाउँहरूमा भएका भीषण सङ्घर्षपछि ती क्षेत्रहरू आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको हो ।
‘पूरै किभ क्षेत्रलाई आक्रमणकारीबाट मुक्त गरिएको छ’ युक्रेनका उपरक्षामन्त्री हान्ना माल्यारले शनिबार भनेकी छन् ।
शान्तिवार्तामा सद्भावको सङ्केत देखाएर रुसले किभनजिक रहेका क्षेत्रहरूबाट आफ्नो फौज फिर्ता गर्ने बताएको छ । तर पश्चिमा विश्लेषकहरूले त्यसअघि नै रुसको आक्रमण रोकिएको बताएका थिए ।
आइतबार बिहान कृष्णसागरको तटमा रहेको बन्दरगाह सहर ओडेसामा विस्फोटनहरू भएको सुनिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार गरेको सम्बोधनमा रुसको आँखा युक्रेनको पूर्वी र दक्षिणी भेगमा परेको टिप्पणी गरेका छन् ।
शनिबार राति एउटा भिडियो सम्बोधनमा उनले भने, ‘रुसी सेनाको लक्ष्य के हो ? उनीहरुले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन् ।’
आफूहरुको उद्देश्य देशको रक्षा गर्नु भएको उनले बताए । उनले भने, ‘हाम्रो लक्ष्य के हो त ? हामी आफैँलाई, हाम्रो स्वतन्त्रता, हाम्रो भूभाग र हाम्रा नागरिकहरुको रक्षा गर्नु हो ।’