भारतको अनुदान सहयोगमा उदयपुरमा विद्यालयको नयाँ भवनको शिलान्यास

काठमाडाैं । भारत सरकारको अनुदान सहायता अन्तर्गत उदयपुर जिल्लाको गाईघाट त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास भएको छ ।

सो विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि मंगलबार नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शिलान्यास गरेका हुन् ।

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो ।

त्यस्तै, श्री बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ भने विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ७०% छात्राहरु रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । यस कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको कुरालाई पुष्टि गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१