
किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाहरूले बुचा सहर नियन्त्रणमा लिएका बेला तीन सयभन्दा बढी सर्वसाधारणलाई यातना दिइ मारेको आरोप लगाएका छन् ।
किभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले बुचा सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका निन्दनिय कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी पनि दिए ।
उनले बुचा सहरमा मात्रै तीन सयभन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताए । सहरमा अनुसन्धान गर्दा पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने उनकाे दाबी छ । ‘बुचा नरसंहार’को अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भइरहेकाे छ ।
त्यस्तै, किभको सबै क्षेत्र पुनः आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेकाे छ । राष्ट्रपति जेलन्स्कीले भने, ‘किभसहितका क्षेत्रका जिल्लाहरूमा रुसी सेनाले पकड स्थापित गरेका बेला स्थानीयबासीहरूले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेको छ ।’
जेलेन्स्कीले रुसी सेनाले बुचासहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताएका छन् ।
बुचासहित किभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका हुन् ।
जेलेन्स्कीले आफ्नो सरकारले त्यस्तो कार्यमा संलग्न रुसी सेनाको पहिचान गर्न प्रयास गरिरहेको पनि बताए । उनले रुसी सेनाबाट पीडित सर्वसाधारणहरूको सङ्ख्या अन्य स्थानमा अझ धेरै हुनसक्ने दाबी पनि गरे ।