राप्रपा प्रवक्ता शाही भन्छन् ‘हाम्रो लडाइँ काँग्रेस, एमाले र माओवादीविरुद्ध होइन, कु-शासन र भ्रष्टाचारविरुद्ध हाे’

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अबको लडाइँ काँग्रेस, एमाले र माओवादीविरुद्ध नभई कु-शासन र भ्रष्टाचारविरुद्ध भएको बताएका छन् ।

बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजित राप्रपाको आम सभालाई सम्बोधन गर्दै शाहीले राप्रपाको राजनीति राजनैतिक ब्यवस्था परिवर्तनको लागि मात्रै नभएर जनताको जिवनस्तर परिवर्तनको लागि भएको जिकीर गरेका थिए ।

प्रमुख वक्ताको रुपमा आक्रामक शैलीमा भाषण गरेका शाहीले चापाकोट नगर कृषि उत्पादनका दृस्ठिकोणले महत्त्वपूर्ण भएता पनि चरम भ्रष्टाचारका कारण चापाकोटकाे विकास हुन नसकेको बताए ।

भौगोलिक दृष्टिकोणले कालीगण्डकीको तटमा रहेको सुन्दर चापाकोटको स्थानीय सरकार चरमा भ्रष्टाचारमा लिप्त भएको पर्दाफास गर्दै, शिर्षक बिना नै स्थानीय सरकारले करोडौँ भ्रष्टाचार गरेको ठोकुवा गरे ।

चापाकोट विकासको प्रमुख आधार कृषि उत्पादन भएको भन्दै आँप, लिची र कटहर उत्पादनको उच्च सम्भावना भएकोले अधिकतम् उत्पादन गर्ने र त्यसको बजार व्यवस्थापनको जिम्मा स्थानीय सरकारले लिने बताएका शाहीले आउँदो स्थानीय चुनावमा हलोमा भोट हालेर राप्रपालाई विजयी गराउन आग्रह गरे ।

हजारौँ जनसमुदायकाबीच सम्बोधन गरेका शाहीले राप्रपाको चापाकोट नगरको मेयरको उम्मेदवारले ‘कालीगण्डकीको तटमा अवस्थित उत्तर गंगाको मन्दिरमा गएर भ्रष्टाचार गरेर खानु आफ्नी आमाको रगत खानु बराबर हो’ भनेर सपथ लिनु पर्ने र तबमात्र उम्मेदवारी दर्ता गराउन पाउने आफ्नो पार्टीको नियम भएको बताए ।

राप्रपाका धर्म संस्कृति संयोजक योगि पुष्पराज जोशी र राप्रपा केन्द्रीय सदस्य हिक्मत जंग कार्कीलगायतले सभामा मन्तव्य राखेका थिए । राप्रपाका सु-शासन विभाग प्रमुखसमेत रहेका शाहीको भाषणमा हजारौँ सर्वसाधारणले ताली र हुटिङले स्वागत गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१