गफाडीलाई गफ गर्न दिऔँ, हामी प्रष्ट विचारकासाथ जनतामा जान्छाैँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार पार्टीले भृकुटी मण्डपमा आयोजना गरेको आमसभामा उनीहरुले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्दै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

आमसभालाई सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारीको नामको दुरुपयोग र जबजको मान्यतामाथि कुठाराघात भइरहको आरोप लगाएका छन् ।

उनले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफूहरु प्रष्ट विचारका साथ जनतामाझ जाने धारणा राखे । अध्यक्ष नेपालले जनसेवाको पक्षमा दृढता साथ उभिन चाहेको भन्दै बोलेको कुरा पुरा गरेरै छाड्ने दावी गरे । विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको र पार्टी थप विस्तार हुँदै गएको उनले बताए ।

त्यस्तै, समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवाद नै भविष्य रहेको भन्दै यसका लागि नयाँ यात्रा सुरु गरेको जानकारी दिए । उनले यसअघिको ओली नेतृत्वको ४२ महिने सरकारले फुटेको कौडी पनि गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा समाजवादीका अन्य नेताहरुले कम्युनिष्ट आन्दोलनलाइ नयाँ ढंगले अघि बढाउनुपर्ने बेला आएको धारणा राखेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१