
काठमाडाैं । सेतो मच्छिन्द्रनाथको रथयात्रा शनिबारबाट सुरु भएको छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याइएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ ।
मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । शनिबारबाट सुरु भएको रथयात्रा ३ दिनमा सम्पन्न हुन्छ । तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ ।
मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथयात्रा निकाल्ने गरिन्छ ।