पाकिस्तानमा सत्ताबाट बाहिरिए इमरान खान, साेमबार नयाँ प्रधानमन्त्रीको चयन

काठमाडाैं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानकाे सरकार ढलेकाे छ । संसद्‌मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि खान सत्ताबाट बाहिरिएका छन् ।

सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतबार मध्यरातपछि मतदान भएकाे थियाे ।

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्नेछ । नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन् । खान अविश्वासको प्रस्तावबाट सत्ताबाट हटाइएका पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन्।

बिहीवार सर्वोच्च अदालतले खानले अविश्वासको प्रस्ताव अवरुद्ध गरी असंवैधानिक ढङ्गले संसद् विघटन गरेको ठहर गरेको थियो ।

प्रधानमन्त्रीबाट हटेपछि खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताएका छन् । उनले आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षडयन्त्र भएको दाबी पनि गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रका समस्या सम्बोधन गर्नेसहितका प्रतिबद्धता जनाएर सन् २०१८ मा प्रधानमन्त्री चुनिएका थिए । तर पाकिस्तान आर्थिक सङ्कटमा घेरिएको छ । ती प्रतिबद्धताहरू कार्यान्वयन गरिएका छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१