
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त हाेइन ! भनी आशंका व्यक्त गरेका छन् ।
अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डले श्रीलंकाले भोगिरहेको आर्थिक संकट उल्लेख गरी नेपालमा पनि यस्ताे समय आउने आशंका गरेका हुन् । उनले भने- श्रीलंकामा अर्थमन्त्री भाग्दैछन अरे । कतै नेपालमा यस्तो दिन आउने त होइन !
पाण्डेले नेपालमा राजनीतिकभन्दा आर्थिक संकट आउने खतरा रहेको बताए । उनले वैदेशिक मुद्रामा चाप आएपछि अर्थमन्त्री र अर्थ मन्त्रालयले गर्नुपर्ने काम राष्ट्र बैंकले गरेको दाबी पनि गरे । उनले अर्थमन्त्री जनार्दन शर्माले गभर्नर निलम्बन गरेर अपराध गरेकाे तर्क पनि गरे ।
यसअघि पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको गलत नीतिका कारण अहिले समस्या देखिएको बताएका थिए । उनले पनि नेपाल श्रीलंकाकाे अवस्थामा पुग्न सक्ने बताएका थिए ।