
काठमाडाैं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारका मन्त्रीहरु कमाउ धन्दामा लागेकाे आराेप लगाएका छन् ।
देशको वर्तमान अर्थतन्त्रबारे पार्टीको धारणा राख्न नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले सरकारका मन्त्रीहरुमाथि यस्ताे आराेप लगाएका हुन् । उनले अहिले मन्त्रीहरुले विवादित अभिव्यक्ति दिएर कमाउ धन्दामा लागेकाे, स्वार्थ नमिल्ने कर्मचारीसँग झगडा गरेकाे र ठेक्कापट्टामा सेटिङ गर्ने गरेकाे देखिएको बताए ।
अहिलेको सरकारले चालू खर्च र पुँजीगत खर्चको सन्तुलन समेत मिलाउन नसकेको उनको आरोप छ । नेकपा एमालेले सरकार छाड्दा १४ महिनाको विदेशी मुद्रा सञ्चिति रहे पनि यति छोटो समयमा अर्थात् एक वर्ष नै नपुग्दै ६ महिनालाई मात्रै पुग्ने स्थिति आएको बताए ।
उनले याे सरकार आएपछि गडबडी देखिएकाे पनि बताए । उनले भने ‘यो अवस्थामा आउनु भनेको अर्थतन्त्र संकटको संकेत हो भनेर हामीले बुझ्नुपर्छ । यो सरकार गठन भएपछि नै आर्थिक गडबडी भएको देखिन्छ । योभन्दा अघि सरकारले ल्याएको बजेटलाई यो सरकारले आफ्नो स्वार्थअनुकूल संशोधन गरेको छ ।’
सरकार आर्थिक समस्या हल गर्नेभन्दा पनि आफ्नो स्वार्थसिद्धितर्फ केन्द्रित भएको आराेप पनि उनकाे छ । यसअघि सुरेन्द्र पाण्डे र विष्णु पाैडेलले पनि अर्थतन्त्रमा संकट आउनुकाे मूल कारण अहिलेकाे सरकार भएकाे आराेप लगाएका थिए ।