युक्रेनी आमाकाे वेदना : मेरै सामु छाेरी मारिइन्, मलाई बन्दी बनाइयो

कीभ । भिक्टोरिया कोभालेन्कोलाई ती हरेक क्षणको स्पष्ट सम्झना छ । त्यहाँ विस्फोट वा कुनै गोलाबारी भयो । मेरा कान बन्द भए । कारको पछाडिको सिसा चकनाचुर भयो । मेरा श्रीमान्‌ले चिच्याएर ‘बाहिर निस्क’ भने।

त्यस दिनको त्रासदी अकल्पनीय छ । यो भोगाइमा विभत्स विवरणहरू छन् । यसले कसै-कसैलाई विचलित बनाउन पनि सक्छ ।

भिक्टोरिया र उनका पतिले युद्ध सुरु भएको ९ दिनपछि युक्रेन सहर चेर्नीहिभ छोडेर भाग्ने निर्णय गरे । उनीहरू जसरी भए पनि आफ्ना बालबच्चा जोगाउन चाहन्थे । भिक्टोरियाको पहिलो विवाहबाट जन्मिएकी भेरोनिका १२ वर्षकी थिइन् । सानी छोरी भरभारा एक वर्ष मात्रै हुँदै थिइन् ।

आफूलाई अत्यावश्यक सामग्री बोकेर उनीहरू आफ्नो घरबाट कारमा निस्किए । जब उनीहरू सहरको बाहिरी भागमा अवस्थित यहिद्‌ने नगरको छेउमा पुगे ढुङ्गा थुपारिएका कारण सडक अवरुद्ध थियो । उनका श्रीमान् पेट्रोले कारबाट निस्किएर ढुङ्गा पन्छाउन सुरु गरे ।

त्यसको केही सेकेन्डमै उनीहरूको कारमा आगो देखियो । ‘मेरी छोरी भेरोनिका रुन थालिन् किनभने सिसाको टुक्राले काटेर मेरो टाउकोबाट रगत बगिरहेको थियो’, आँखा मुनि रातो खत देखाउँदै भिक्टोरिया भन्छिन् ।

‘फेरि भेरोनिका चिच्याउन थालिन् । उनका हातहरू कामिरहेका थिए । त्यसैले मैले उनलाई सम्झाउन खोजेँ । उनी कारबाट बाहिर निस्किने बित्तिकै ढलिन् । उनको टाउको फुटिसकेको रहेछ’ भिक्टोरियाले सुनाइन् ।

रुसी बम प्रहार भएको उनीहरूको कारमा दनदनी आगो बल्न सुरु गर्‍यो । ‘म सकेसम्म सम्हालिन खोजेँ । मैले अर्को बच्चा समातिरहेकी थिएँ र उनलाई सुरक्षित ठाउँमा पुर्‍याउनु थियो’, उनले भनिन् ।

जलेको अवस्थामा भिक्टोरिया परिवारको कार ।

पेट्रोल केही नबोलेपछि उनलाई थाहा भयो उनका श्रीमान् पनि मारिइसकेका थिए । मारिएका श्रीमान्‌ र ठूली छोरीसँगै जल्दै गरेको कार छोडेर उनी त्यहाँबाट भागिन् । आफूलाई जीवित राख्न त्यसपछिका २४ घण्टा उनले अथक प्रयास गरिरहिन् ।

भिक्टोरिया र उनकी सानी छोरी भारभाराले एउटा रोकिएको कारमा आश्रय पाए । तर त्यहाँ पनि गोली हानाहान सुरु भयो । उनीहरू भागेर एउटा घरमा पुगे। तर त्यो घर पनि सैनिकहरूले प्रयोग गरिरहेका थिए ।

उनीहरू त्यही घरमा लुके । ब्याट्री बचाउन उनले फोन स्विच अफ गरिन् । आफू र छोरीलाई कसरी बचाउने भनेर उनले सोचिरहिन् । अर्को दिन गस्तीमा निस्किएका रुसी फौजले उनीहरूलाई देखे । उनीहरूलाई यहिद्‌नेको एक विद्यालयमा लगियो र भूमिगत तलामा बन्धक बनाइयो ।

आमा र छोरीले अर्को २४ घण्टा यहाँ दयनीय अवस्थामा समय बिताए। आफ्नै सामुन्ने मानिसहरूको मृत्यु देखिन् भिक्टोरियाले । उनले आफ्नो चोटको कुनै उपचार पाइनन् ।

बीबीसी उनी बसेको भूमिगत तला हेर्न यहिद्‌नेको विद्यालय पुगेर र त्यहाँ राखिएका अन्य मानिसहरूसँग पनि कुरा गरिसकेको छ । उनीहरूका अनुसार त्यहाँ बन्दी बनाइएकाहरूको मृत्यु हुँदा कहिले घण्टौँ र कहिले केही दिनसम्म पनि शव उठाइँदैन थियो ।

भिक्टोरियाका अनुसार यो तलामा ४० जनालाई राखिएको थियो । जहाँ आवतजावत र हिँडडुल गर्ने ठाउँको पनि अभाव थियो ।

बिजुली नभएका कारण उनीहरू मैनबत्ती र लाइटरहरू बाल्थे । धुलै धुलो र गर्मी ठाउँमा मानिसहरूलाई सास फेर्न पनि कठिन भएको भिक्टोरिया बताउँछिन् ।

अधिकांश समय मानिसहरूलाई दिशा पिसाबका लागि समेत बाहिर निस्कन रोकेर भित्रै बसेर बाल्टीमा गर्न भनिन्थ्यो ।

आफ्ना श्रीमान् र ठूली छोरी गुमाइसकेकी भिक्टोरिया आफैँ निकै कठिन पीडामा थिइन् । तैपनि उनले अर्की छोरी बचाउन दृढ अठोट र आफूसँग भएको शक्ति प्रयोग गरिन् ।

उनले आफूलाई बन्धक बनाइरहेका रुसी सैनिकहरूलाई आफ्ना श्रीमान् र छोरीको शव ल्याइदिन अनुरोध गरिन् । उनलाई ती शवहरू आफैँ पुर्नु थियो ।

उनले भेरोनिकाका बुबा आफ्ना पूर्व पतिलाई उनीहरू मारिएको ठाउँमा पठाइन् । उनका अनुसार ती शवहरू मानव अवशेषका रूपमा पहिचान गर्न समेत कठिन अवस्थामा थिए ।

भेरोनिकाका लुगा कपडा ।

आगोले जलेको कारमा केही पनि बाँकी थिएन । बाँकी थिए, रगत लतपतिएका भेरोनिकाका केही लुगा, प्वाल परेको झोला, कारको नम्बर प्लेट र आगोले ज्वालाबाट गालिएको चाँदी बाँकी थिए ।

ती शवहरू आइपुगेको दिन भिक्टोरिया सम्झन्छिन् । ‘त्यो १२ मार्चको दिन थियो । उनीहरूले मलाई बोलाएर कहाँ पुर्ने भनेर सोधे,’ उनले भनिन् ।

शवहरूलाई एउटा ठूलो र एउटा सानो बाकसमा राखेर दुई वटा छुट्टाछुट्टै चिहानमा जङ्गलमा लगेर पुरियो । ‘जब हामीले ती बाकसहरू माटोले पुर्न सुरु गर्‍यौँ बमबारी सुरु भइहाल्यो । पुरिनसकी हामी त्यहाँबाट भाग्न पर्‍यो । त्यो निकै डरलाग्दो क्षण थियो’ उनले भनिन् ।

‘यदि मलाई पुटिनलाई गोली हान्ने अवसर दिइयो भने म त्यो काम गर्न सक्छु मेरा हातहरू काँप्दैनन्’ भिक्टोरियाले भनिन् । भिक्टोरिया र भरभारालाई युक्रेनको पश्चिमी क्षेत्र लभिभको सुरक्षित ठाउँमा राखिएको छ । भिक्टोरिया अहिले मनोवैज्ञानिक परामर्श लिइरहेकी छिन् ।

‘जब म मानिसहरूसँग हुन्छु, केही गर्छु वा बोल्छु म के भएको थियो भन्ने बिर्सिन्छु । तर जब म एक्लै हुन्छु म होस गुमाउन पुग्छु’ उनले सुनाइन् ।

यसो भनिरहँदा उनका आँखाबाट आँसु चुहिन थाले । मारिएकी आफ्नी छोरीले उपहार दिएको एउटा चिनो उनले देखाइन् । सानो गाईको आकृति भएको यो चाबी राख्ने चिनो केही अक्षरहरू लेखिएको सुनको औँठीसँगै जोडेर राखिएको थियो ।

‘यो चर्चबाट ल्याइएको हो । उनले मेरो लागि यो किनेकी थिइन् । यसमा भएको शक्तिका कारण गर्दा म बाँचेँ जस्तो लाग्छ । किनभने यो सधैँ मेरो खल्तीमा हुन्छ र मलाई सुरक्षित राख्छ’ उनले सुनाइन् ।

बीबीसीबाट ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१