मारिओपोल सहरमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेकाे रुसी दाबी

कीभ । रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार भन्दा धेरै युक्रेनी सेनाले आत्मसमर्पण गरेको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो ।

‘मारिओपल सहरमा ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले हतियार त्यागेर आत्मसमर्पण गरे ’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

उक्त सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेर आक्रमण गरिरहेको छ ।

समाचारसंस्था रोएटर्सका पत्रकारहरूले युक्रेनी सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको आजोभ्स्टाल स्टील कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखेको जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

रुसी टेलिभिजनले इल्यिच आइरन एन्ड स्टील वर्क्स कारखानामा मरीन सैनिकहरूले आत्मसमर्पण गरेको भन्दै दृश्यहरू प्रसारण गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१