
काठमाडाैं । बुधबार विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो ।
रुसी भाषामा मस्कोलाई भनिने ‘मस्क्भा’ नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक थियो ।
५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो । किभले उसका नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो ।
रुसले भने कुनै हमला भएको बताएको छैन । आगलागी र विस्फोटनले मस्क्भामा क्षति पुगेको उसले बताएको छ । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको पनि रुसकाे दाबी छ ।
बिहीवार खराब मौसमका माझ मस्क्भालाई किनारातर्फ तानेर लैजाने क्रममा गर्दा डुबेको रुसको रक्षामन्त्रालयले बताएको छ ।