
काठमाडौं । रुस र युक्रेनबीचको युद्ध अहिले झन् खतरनाक बनेकाे छ । रुस र युक्रेनबीच ५० दिनदेखि युद्ध जारी छ । अब युक्रेनले पनि रुसमा प्रवेश गरी आक्रमण गर्ने रणनीति अपनाइरहेको रुसले दाबी गरेको छ ।
रुसले बिहीबार दुई युक्रेनी सैन्य हेलिकप्टर आफ्नो सीमामा प्रवेश गरी आवासीय भवनमा बम प्रहार गरेको दाबी गरेको छ । रुसले यी आक्रमणमा धेरै सर्वसाधारण घाइते भएको दाबी गरिरहेकाे छ । यद्यपी युक्रेनले त्यस्तो कुनै पनि आक्रमण नगरेको जनाएको छ ।
रुसले युक्रेनले सीमावर्ती बेलगोरोड र ब्रायनस्कमा आक्रमण गरेको दाबी गरेको हाे । यसअघि रुसले युक्रेनले बेलगोरोडको रेल पुलमा आक्रमण गरेको आरोप लगाएको थियो । बेल्गोरोडका मेयर व्याचेस्लाभ ग्लाडकोभले युक्रेनी आक्रमणमा कुनै हताहत नभएको र रेल पुलमा मात्र क्षति पुगेको दाबी गरेका छन् ।
क्षतिग्रस्त रेल पुल युक्रेनको डोनबास प्रान्तबाट ६ दशमलव ५ किलोमिटर टाढा रहेको छ । यो रेल पुल रूसका लागि धेरै महत्त्वपूर्ण थियो किनभने यसले सैन्य उपकरणहरू आपूर्ति गरिरहेको थियो ।
यो महिना बेल्गोरोडमा युक्रेनी सेनाले गरेको यो दोस्रो आक्रमण हो । यस महिनाको सुरुमा रुसले युक्रेनले बेल्गोरोड तेल भण्डारमा आक्रमण गरेको आरोप लगाएको थियो । तर, युक्रेनले पनि यसलाई अस्वीकार गरेको छ ।