काठमाडौंको मेयर पदका लागि पहिलाे दिन १६ जनाकाे उम्मेदवारी, कस-कसले दिए ?

काठमाडौं । उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार साेमबार साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्ने कार्यतालिका छ ।

यी हुन् मेयर पदका लागि काठमाडाैंका उम्मेदवार

काठमाडौंको मेयरका लागि पहिलो नम्बरमा आनन्द राज जोशीले उम्मेदवारी दर्ता गरेका छन् । उनी काठमाडौं महानगरपालिका १९ वडा निवासी हुन् । जोशी राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव हुन् । जोशीको प्रस्तावकमा सरोज शाही र समर्थकमा सरला शाही रहेका छन् ।

काठमाडौंकाे वडा नम्बर १४ का रविकान्त मानन्धरले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । मानन्धरको प्रस्तावक राजेन्द्र मान प्रधान हुन् भने समर्थक रमेश मानन्धर रहेका छन् ।

काठमाडौं १६ निवासी राजन कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । कार्कीको प्रस्तावकमा सुनिल नकर्मी र समर्थक राम प्रजापति रहेका छन् ।

र्‍यापर बालेन शाह (बालेन)ले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौं-३२ निवासी शाहको प्रस्तावक प्रतिश श्रेष्ठ हुन् भने समर्थक प्रेमकृष्ण श्रेष्ठ रहेका छन् ।

यस्तै, विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बास्कोटाले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेकी छन् । बानेश्वर-३१ निवासी समीक्षाको प्रस्तावकमा मोहन श्रेष्ठ र समर्थकमा बिना शाह रहेका छन् ।

आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौं २४ का सुरेशरत्न बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन् । बज्राचार्यको प्रस्तावकमा मनोज तुलाधर र समर्थकमा सुरेश शाक्य छन् ।

नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं २४ का रामबहादुर खड्काले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा राजु निरौला र समर्थकमा गोपालप्रसाद चौलागाईं रहेका छन् ।

मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट काठमाडौं ९ का सीता तामाङले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा कमला श्रेष्ठ र समर्थकमा गीता राई रहेका छन् ।

मौलिक जरोकिलो पार्टीको तर्फबाट काठमाडौं ९ का मनोजराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा प्रतिज्ञा अर्याल र समर्थकमा बिमल केसी छन् ।

ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उर्मिला मानन्धरको प्रस्ताव र पूर्णदेवी मानन्धरको समर्थनमा तामाङले उम्मेदवारी दिएकी हुन् ।

उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा निलम कृष्ण ताम्राकार र समर्थकमा सुरज मानन्धर रहेका छन् ।

काठमाडौं-१५ की निवासी अमोट महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा रमेश महर्जन र समर्थनमा श्यामकृष्ण मानन्धर रहेका छन् ।

यसैगरी, काठमाडौंको मेयरमा विपिनराज वैद्य, सूर्य थापाश्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनको पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१