काे हुन् राहुल गान्धीकाे नेपाली साथी, जसकाे विवाहमा सरिक हुन नेपाल आए ?

काठमाडाैं । भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी यतिबेला निजी भ्रमणमा काठमाडौंमा छन् । उनी एक नेपाली साथी सुम्निमा उदासको विवाह समारोहमा समावेश हुन काठमाडाैं आएका हुन् ।

राहुल गान्धी सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौं आएका थिए । उनी सोमबार राती ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए । उनी नेपालमा आएकाे खबरले नेपालमा मात्रै होइन, पूरै भारतमा पनि हंगामा मच्चाइरहेको छ ।

काे हुन् राहुलकी साथी ?

राहुलकी साथी सुम्निमाका पिता भीम उदास म्यानमारका लागि नेपालका पूर्व राजदूत हुन् । उनले आफ्नी छोरीको विवाहमा सरिक हुन राहुल गान्धीलाई निमन्त्रण दिएको बताएका छन् ।

सुम्निमा सीएनएनका लागि पूर्वपत्रकारसमेत हुन् । उनले अमेरिकाको ली युनिभर्सिटीबाट पत्रकारिता गरेका हुन् । यसबाहेक उनले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पनि गरेका छन् ।

पत्रकारको रुपमा उनले धेरै काम गरिसकेकी छिन् । उनले दिल्लीको निर्भया सामूहिक बलात्कारलाई पनि कभर गरेकी थिइन् । उदासले सन् २०१४ मा अमेरिकन जर्नलिस्ट अफ द इयर अवार्ड पनि जितेकी थिइन् ।

उनकाे विवाह समारोह मंगलबार भइरहेकाे छ । यस्तै, रिसेप्सन ५ मेमा हायात होटलमा हुने बताइएकाे छ । सुम्निमाको विवाह निमा मार्टिन शेर्पासँग हुन लागेकाे हाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१