
रुस अहिले अभूतपूर्व प्रतिबन्धहरूको सामना गरिरहेको छ र अब युरोपले एलीना काबेभालाई पनि प्रतिबन्ध लगाउने सम्भावना छ ।
काबेभा नेता, सञ्चार उद्यमी र ओलिम्पिक्स खेलाडी हुन् र यदि हल्लाहरू साँचो रहेछन् भने उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी प्रेमिका र केही सन्तानकी आमा हुन् ।
युरोप र अन्यले लगाएको प्रतिबन्धहरू पुटिन नजिक भएका कारण फाइदा प्राप्त गरेका व्यक्तिहरूमाथि केन्द्रित छन् ।
गत महिना यूके र अमेरिकाले पुटिनका छोरीहरू ३६ वर्षीया मारिया भोरोन्तसोभा र ३५ वर्षीया क्याटरीना तिख्नोभालाई प्रतिबन्ध लगाएका थिए। उनीहरू पुटिनकी पूर्वपत्नी लुड्मिलाका छोरीहरू हुन्।
अहिलेसम्म काबेभामाथि प्रतिबन्ध लागेको छैन । उनले आफूमाथि प्रतिबन्ध लाग्ने सुइँको त पाएकी होलिन् किनभने मार्चमा स्वीट्जरल्यान्डबाट उनलाई निकाल्न अनलाइन अभियान सञ्चालन गरिएको थियो ।
युरोपले लगाउने प्रतिबन्धको नयाँ सूचीमा उनको नाम भएको स्रोतले बीबीसीलाई बताएको समाचार बीबीसीले लेखेकाे छ । समाचार संस्था एएफपीका अनुसार उनलाई क्रेमलीनको प्रोपागान्डा फैलाएको र ६९ वर्षीय राष्ट्रपति पुटिनसँग नजिकैको सम्बन्ध भएको आधार देखाइएको छ ।
सो मस्यौदामा उनलाई पुटिनको प्रेमिका भनिएको छैन र यो मस्यौदा स्वीकृत भइसकेको छैन ।
रुसका राष्ट्रपतिको व्यक्तिगत जीवनका बारे धेरै कुरा सार्वजनिक भएको छैन । व्यक्तिगत जीवनका बारेमा सोधिएका प्रश्नहरू उनी छल्ने गर्छन् ।
तर उनले काबेभासँगको सम्बन्धलाई भने स्पष्ट शब्दमा नकारेका छन् । सन् २००८ मा रुसी सञ्चारमाध्यमले पुटिनले लुड्मिलासँग सम्बन्ध विच्छेद गरेर काबेभासँग विवाह गर्न लागेको लेखेको थियो । पुटिन र काबेभा दुवैले त्यसलाई नकारे ।
चाँडै नै मोस्कोभ्स्की कोरेस्पोन्डेन्ट पत्रिका बन्द गरियो र त्यसको पाँच वर्षपछि पुटिनको पारपाचुके घोषणा गरियो ।
जब पुटिनले काबेभासँगको सम्बन्ध नकारिरहेका थिए त्यो समयमा काबेभा खेलकुद क्षेत्रबाट राजनीतिमा उल्लेख्य प्रगति गरिरहेकी थिइन् ।
रिबन र बलको सहाराले आफ्नो सीप प्रदर्शन गर्ने रिदमिक जिम्न्यास्टिक खेलाडी काबेभा आफ्नो समयमा विश्वकै उत्कृष्ट मानिन्थिन् । उनले देखाएको एउटा कलालाई उनको नामले चिनिन्थ्यो र उनी रुसकी प्रमुख खेलाडी थिइन् ।
रुसले सन् २००६ देखि २०१६ सम्म त्यो विधामा उपलब्ध सबै ओलिम्पिक्स स्वर्ण पदक जितेको थियो ।
सन् १९८३ मा जन्मिएकी काबेभाले चार वर्षको उमेरमा जिम्न्यास्टिक खेल्न सुरु गरेकी थिइन् । उनको प्रशिक्षक इरीना भाइनरले भन्थिन्: ‘जब पहिलो पटक उनलाई मैले देखेँ मैले विश्वासै गर्न सकिनँ । त्यो केटीमा खेलका लागि अत्यावश्यक दुई गुण लचकता र फुर्तीको अनौठो सम्मिश्रण थियो ।’
काबेभालाई रुसकी सबैभन्दा लचक भएकी महिला भनिन्थ्यो ।
सन् १९९६ मा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सुरु गरेकी उनले सन् १९९८ मा युरोपेली प्रतियोगिता जितेर सबैलाई अचम्मित पारेकी थिइन् ।
सन् २००० को सिड्नी ओलिम्पिक्समा उनको एउटा गल्तीले कांस्य पदकमा सीमित भएको रुसले सन् २००६ को एथेन्स ओलिम्पिक्समा स्वर्ण जित्यो ।
खेलबाट संन्यास लिने बेलासम्म उनले ओलिम्पिक्स पदकहरूबाहेक १८ विश्व च्याम्पियनसिप र २५ युरोपेली च्याम्पियनसिप पदकहरू जितिसकेकी थिइन् । तर रुसका अन्य खेलाडी झैँ उनी पनि प्रतिबन्धित औषधि सेवनको दागबाट मुक्त रहिनन् र सन् २००१ मा एउटा प्रतियोगितामा जितेको पदक गुमाइन् ।
सन्यासपछि उनी राजनीतिमा आइन् र सन् २००७ देखि २०१४ सम्म रुसी तल्लो सदनमा सत्तारुढ दलको सांसद रहिन् ।
सन् २०१४ मा उनी न्याश्नल मिडिया ग्रुपको अध्यक्ष भइन् । सो ग्रुपको रुसका सबै मुख्य राज्य नियन्त्रित सञ्चारमाध्यममा ठूलो लगानी छ ।
ती सञ्चारमाध्यमहरूले युक्रेन युद्धका बारेमा युक्रेनी आफैले आफ्नो सहरमाथि आक्रमण गरेको र रुसी सेना युक्रेन बचाउन गएको जस्ता मिथ्या सूचनाहरूको बाढी बगाएका छन् ।
आफ्नो पदका कारण काबेभा धनी भएकी छन् । चुहाइएको एउटा दस्ताबेज अनुसार उनी वार्षिक एक करोड २० लाख अमेरिकी डलर कमाउँछिन् ।
पुटिन र उनको पहिलो पटक कहाँ भेट भयो भन्ने स्पष्ट छैन तर रुसका चर्चित खेलाडीहरूलाई राष्ट्रपति भेट्न गाह्रो छैन । सन् २००१ मा पुटिनले काबेभालाई देशको सबैभन्दा ठूलो पदक दिँदै गरेको तस्बिर छ ।
उनीहरूको सन्तान भएको विवरण प्रकाशित भए पनि कति जना भन्ने स्पष्ट छैन ।
स्वीट्जरल्यान्डको एक पत्रिकाका अनुसार काबेभाले सन् २०१५ मा एक बालक जन्माएकी थिइन भने सन् २०१९ मा अर्को बालकलाई जन्म दिएकी थिइन् । अन्य पत्रिकाले सन् २०१९ मा उनले मस्कोमा जुम्ल्याहा जन्माएको बताउँछन् ।
क्रेमलीनले यी विवरणहरूलाई नकारेको छ । सन् २०१५ मा एक प्रवक्ताले पुटिन बुवा भएको बालक जन्मिएको सूचना सत्य नभएको बताएका थिए ।
पुटिन आफ्नो व्यक्तिगत कुरा यति गोप्य राख्छन् कि पत्नी लुड्मिलाबाट जन्मिएका दुई छोरीको नाम पनि सार्वजनिक रूपमा लिएका छैनन् ।
पुटिनसँगको सम्बन्धबारे हल्ला फैलिएयता काबेभा कहिले चर्चामा र कहिले चर्चाबाहिर हुने गरेकी छन् । सन् २०११ को भोग पत्रिकाको मुखपृष्ठमा उनको तस्बिर छापिएको थियो भने सन् २०१४ को हिउँदे ओलिम्पिक्समा उनीले ओलिम्पिक्स टर्च बोकेकी थिइन् ।
गत अप्रिलमा उनी मस्कोको एउटा जुनियर खेल प्रतियोगितामा देखिइन् जहाँ उनले विवाहित दर्साउने गहना लगाएको केही सञ्चारमाध्यमले लेखेका थिए ।
वाल स्ट्रीट जर्नलले अमेरिकाले काबेभामाथिको प्रतिबन्ध पुटिनलाई व्यक्तिगत प्रहार हुने र यसले युद्ध चर्काउन सक्ने डरले अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाउन नसकेको लेखेको थियो ।
तर अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाउने कुरा नसोचिएको कुरा भने होइन ।
अप्रिलमा ह्वाइट हाउसका प्रेस सेक्रेटरीलाई उनको नाम किन प्रतिबन्धको सूचीमा छैन भनी सोधिएको प्रश्नमा जवाफ थियो, ‘कोही पनि सुरक्षित छैन ।’
बीबीसी नेपालीबाट ।